मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रोल्पाको माडी गाउँपालिकामा काँग्रेस–एमालेको तालमेल

रोल्पाको माडी गाउँपालिकामा काँग्रेस–एमालेको तालमेल


रोल्पा । रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच चुनावी तालमेल भएको छ ।
 
जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा (एमाले) ले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो । सहमतिपछि असार ४ गते नै उनीहरूले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ । उनीहरूले सो गाउँपालिकाका अन्य तीनवटा वडामा समेत चुनावी तालमेल गरेका छन् ।
 
तालमेल जिल्लाको सापेक्षतामा स्वाभाविक भएको नेपाली काँग्रेसका सभापति अमरसिं पुनले प्रतिक्रिया दिए । स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको उनले बताए । जिल्लाभर तालमेल गरी जाने प्रयास गरिए पनि प्राविधिक कारणले सम्भव नभएको उनले बताए ।
 
देशका अन्य जिल्लामा नेपाली काँग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहे पनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उनले बताए । 
 
एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पामा काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र अन्य साना दलसहित स्वतन्त्र उमेदवारले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन् । रासस