नेपाल

कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु, १८ यात्रु घाइते

कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु, १८ यात्रु घाइते


काठमाडौँ । दैलेखको आठबीस नगरपालिका–४ नैनाल सडक खण्डमा बुधबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् । 
 
कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिए । 
 
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताए । मृत्यु हुने यात्रुको सनाखत हुन सकेको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।