राजविराज । सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् ।
सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र ७ वर्षीया छोरी सरोकुमारी खड्गा घरमा सामान्य विवाद हुँदा आवेशमा आएर घरबाट निस्केका र ती दुवै बालिका अहिलेसम्म घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ ।
स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा फेल भएको र घरको सदस्यले किन फेल भइस् भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजे पनि भेट्न नसकिएको उनका बुबा दुःखी खड्गाले बताए ।
स्रोतका अनुसार घरबाट निस्केका ती दुवै बालिका भारदह चौकमा काँकडभिट्टा जाने बसमा चढेको बताइएको छ ।
यसैबीच, बेपत्ता भएका ती दुवै बालिकालाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् ।
मेला हेर्न गएका वृद्ध बेपत्ता
मेला हेर्नका लागि एक साताअघि घरबाट निस्केका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ७१ वर्षीय छोटन डगौरा बेपत्ता भएका छन् ।
लालझाडी गाउँपालिका भकुण्डामा जेठ २६ गते लागेको मेला हेर्नका लागि गएका वृद्ध घर नफर्केपछि परिवार चिन्तित भएका छन् ।
‘आफन्त र चिनेका सबै जनालाई वृद्ध खोज्नका लागि परिचालन गरे पनि फेला पार्न सकेका छैनौँ’, बेपत्ता वृद्धका नाति मनोज डगौराले भने । यसबारे प्रहरीलाई समेत जानकारी गराइएको उहाँले बताए । मेलाबाट गाउँका व्यक्तिसँगै फर्कंदै गर्दा वृद्ध हराएका थिए । रासस
प्रतिक्रिया