नेपाल

पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु


माडी । चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
 
शनिबार साथीहरूसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
 
दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरूसँग पिकनिक खान गएका थिए । सो क्रममा नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेको प्रहरीले जनाएको छ ।
 
डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरूमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
उनीहरूको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस