चितवन । चितवन जिल्ला मानव बेचबिखनको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।
माइती नेपाल, प्रहरी प्रशासन, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीलगायतका सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न निकायहरूले मानव बेचबिखनविरूद्ध काम गर्दै आए पनि मानिसहरूमा लोभ र वैदेशिक रोजगार मोहका कारण चितवन जिल्ला मानव बेचबिखनको मुख्य केन्द्रको रूपमा प्रयोग भइरहेको छ ।
अहिलेको २१ औँ शताब्दीमा पनि मानिसहरूमा चेतना अभाव र चेतना भएर पनि कार्यान्वयन नगर्दा यस्ता घटनाले प्रश्रय पाइरहेको माइती नेपालले जनाएको छ । माइती नेपालले दिएको जानकारीअनुसार प्रायः महिला तथा किशोरीहरू पीडामा परिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी, महिला तथा बालबालिका कार्यालयलगायतका सरकारी निकायहरूसँग भएको बैठकमा जिल्लाका केही होटल व्यवसायीहरू नै मानव बेचबिखनको कार्यमा संलग्न रहेको जानकारी गराउँदै माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले यस्ता व्यवसायीहरूलाई छानविन गरेर कारबाही नगरेसम्म यस्ता घटनाहरू कम हुन नसक्ने बताए ।
मानव तस्कर गर्नेहरूले होटल व्यवसायसँग समन्वय गरेर सीमा पार गर्ने काम भइरहेको उनको भनाइ छ । यस्ता क्रियाकलापमा संलग्नहरूको विषयमा अनुसन्धान भइरहेको भन्दै क्षेत्रीय कार्यक्रम अधिकृत दवाडीले भने, ‘आधिकारिक केही प्रमाणहरू भेट्टाउन बाँकी रहेकोले हामी प्रमाण जुटाउने प्रयत्न गरिरहेका छौँ ।’
घटनामा संलग्न भएको थाहा पाएका वरिपरीका व्यवसायीहरूबाट नै आधिकारिक जानकारी आएको हुँदा आफूहरूलाई काम गर्न पनि सजिलो भएको उनले बताए । जानकारी गराउने व्यक्तिलाई छायाँमा राखेर काम गरिरहेको उनको भनाइ छ । महिला अधिकारकर्मी सुशीला पाण्डेका अनुसार मानव बेचविखनजस्ता कुकार्य राजनीतिक शक्तिको आडमा भइरहेको बताइन् ।
‘विभिन्न दलका ठूला मान्छेहरू नै यौन व्यवसायमा सक्रिय छन्,’ उनले भनिन्, ‘त्यस्तालाई कसले कारबाही गर्ने ?’ पहुँचका भरमा समाजले मानेका व्यक्तिहरूबाटै यस्ता क्रियाकलाप भइरहेकोले हरेक वर्ष विभिन्न खालका प्रयासहरू भइरहे पनि घटना कम हुनुको सट्टा झनै बढ्दै गएको उनको भनाइ छ । ‘त्यसैले यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई पनि समाजमा पर्दाफास गर्न सक्नुपर्छ,’ उनले भनिन्, ‘नत्र भने यस्ता विकृतिको अझै मौलाउन सक्छ ।’
नेपाल–भारत सीमा क्षेत्रमा खुल्ला नाका भएकोले पनि भारतको भूमि प्रयोग गरेर विदेश जाने मोहमा फसेको सरोकारवालाहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक अञ्जना श्रेष्ठका अनुसार विशेषगरी विद्यालय तहको पठनपाठन सकाएका किशोरीहरू यस्ता घटनाको शिकार बन्नु परेको बताइन् ।
१५/२० वर्ष उमेरसमूहका किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी सीमा दलालहरूले सीमा कटाएका घटनाहरू अझै पनि कम नभएको उनले बताइन् । यसका लागि विद्यालयमै गएर विद्यार्थीहरूलाई यसबारे जानकारी गराउन सके घटना कम हुन सक्ने उनको बुझाइ छ । त्यसपछि विद्यालय तहबाट बाहिरिसकेका लक्षित वर्गहरूको पहिचान गरेर जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन सके प्रभावकारी हुने प्रहरी निरीक्षक श्रेष्ठले बताइन् ।
जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले यस्ता क्रियाकलापलाई रोक्नका लागि माइती नेपालले बनाएको सन्दर्भ सामग्री सबै विद्यालयमा पु¥याउने, जिल्लाभित्र रहेका विभिन्न पुस्तकालयहरूमा राख्न लगाउने र प्रभावित स्थानको पहिचान गरी त्यस क्षेत्रमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिए प्रभावकारीरूपमै यस्तो घटना कम हुने बताए ।
यस्तै, महिला तथा बालबालिका कार्यालय चितवनकी महिला विकास निरीक्षक अप्सरा देवकोटाले महिला तथा बालबालिका कार्यालयले यस विषयमा समयसमयमा विभिन्न खालका कार्यक्रमहरू आयोजना गरेर सबैलाई जानकारी गराइए पनि पर्याप्त नभएको उनको भनाइ छ ।
यस्तै, बहुविवाह तथा घरेलु तथा लैङ्गिक हिंसाका घटनालाई कम गर्नका लागि पनि सरोकारवाला निकायहरूले हातेमालो गरेर काम गर्नसके समाजमा विकृति कम हुने उनको बुझाइ छ ।







प्रतिक्रिया