मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भरतपुर महानगरमा कसले मार्ला त बाजी ?

भरतपुर महानगरमा कसले मार्ला त बाजी ?


हिमालय खबर संवाददाता-
चितवन । भरतपुर महानगरपालिकामा कसको पल्ला भारी होला भन्ने विषयलाई लिएर चितवनमा मात्र होइन, देशविदेशमा सर्वाधिक चासोका रुपमा हेरिएको छ । भरतपुर महानगरपालिकाको निर्वाचनको परिणामलाई लिएर सर्वाधिक चासो रहनुका प्रमुख कारण तीनवटा देखिएका छन् ।
 
पहिलो कारण यस महानगरमा नेपाली कांग्रेस बलियो हुँदाहुँदै माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन बन्नु हो । दोस्रो कांग्रेस र केन्द्रको गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल मेयरमा उठ्नु हो । तेस्रो कारण कांग्रेसले मेयरमा उम्मेदवार फिर्ता गरेपछि उसको मेयरको भोट कता बढी जाला भन्ने कौतहलता आमजनतामा जाग्नु हो ।
 
एमालेबाट मेयरमा उम्मेदवार बनेका देवी ज्ञवाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई चुनौती दिँदै आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । कांग्रेसका असन्तुष्ट पक्षको मत आफ्नो पक्षमा पर्न सक्ने आशले पनि उनको चुनौती बढेको हो । 
 
उसो त भरतपुर महानगर कांग्रेसको आधार इलाका नै हो । गठबन्धनले गर्दा अवसर छोप्न सकिने दाउमा एमाले छ । तर, गठबन्धनबाट संयुक्त उम्मेदवार रेणुलाई पराजित गर्नु एमालेलाई फलामको च्यूरा चपाउनुबराबर मानिएको छ । 
 
त्यसैले कांग्रेस र माओवादी केन्द्रले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । भरतपुर महानगरमा कहिले रेणुले अग्रता लिने र कहिले ज्ञवाली अगाडि देखिने भएकाले सर्वसाधारणलाई बढी कौतुहलता बढेको छ । 
 
भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । जसमध्ये अहिलेसम्म १० वटा वडाको मात्रै मतगणना सकिएको छ । अझै १९ वडाको मत परिणाम आउन बाँकी नै रहेका कारण कुनै पनि पक्षले विश्लेषण गर्न सक्ने अवस्था देखिँदैन । 
 
‘महानगरका एमाले बलियो भएका क्षेत्रमा मेयरमा ज्ञवालीको झिनो मतले अगाडि आएको बताउँछन् माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’। उनी कांग्रेस र माओवादी केन्द्रको तालमेल भए पनि केही मत दायाँ बायाँ हुनसक्ने बताउँछन् । तर, गठबन्धनकै मेयरको उम्मेदवार रेणु दाहालको जित सुनिश्चित रहेकोमा उनी ढुक्क देखिन्छन् । 
 
नेकपा एमालेका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले पनि एमाले बलियो नरहेको वडामा समेत मेयरमा एमालेले लिड गरेकाले ज्ञवालीको मत माथि जाने बताउँछन् । 
 
महानगरको २९ वडामध्ये २० वडा जित्ने उनको दाबी छ ।  ‘गीतानगर, शारदानगर, गुञ्जनगर र दिव्यनगरमा कांग्रेस बलियो छ, अन्य ठाउँमा हामी अत्यधिक मतले लिड गर्छौँ’ रेग्मीले भने । 
 
नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले केही मत यताउती परे पनि गठबन्धनको उम्मेदवारले धेरै वडामा लिड गर्ने र रेणु दाहालले सानदार मतले विजयी हुनेमा विश्वस्त रहेको बताए । 
 
नेपाली कांग्रेस महानगर समन्वय समितिका संयोजक भरत अधिकारीले गठबन्धनकै उम्मेदवारले जित्ने दाबी गरे । उनले भने, ‘थोरै मतले भए पनि मेयरमा गठबन्धनकै उम्मेदवारले जित्नुपर्छ । वडा नं ३, ४, ६, १६, १७, १८ कांग्रेस बलियो रहेकाले त्यहाँको मतगणना हुँदा गठबन्धनको मेयर उम्मेदवार धेरै मतअन्तरले अगाडि हुन्छ । 
 
संयोजक अधिकारीका अनुसार वडा नं २७, २८ र २९ कांग्रेसको कमजोर क्षेत्र हो । वडा नं ९ देखि १२ सम्म कांग्रेस र एमालको कडा प्रतिस्पर्धा क्षेत्र रहको उनले बताए । ‘महानगरको उपमेयरमा भारी मतले जित भए पनि मेयरमा थोरै मतले जित्ने आधार बनेको छ’ उनले भने, ‘केन्द्र र कांग्रेसबीच तालमेल गरे पनि ७ सालदेखि कांग्रेसलाई भोट हालेका ज्येष्ठ नागरिकबाट गठबन्धनको उम्मेदवारलाई भोट कम आएजस्तो देखिन्छ ।’
 
रेणुलाई भोट दिने आधार 
 
माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल प्रचण्डपुत्री तथा महिला भएका कारणले उनलाई महिलाको भोट बढी खसेको अनुमान गरिएको छ ।
 
केन्द्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएका कारणले केन्द्रको निर्देशनअनुसार पार्टीमा लागेका कार्यकर्ताहरुले ‘ओभरट्याक’ नगरी रेणुलाई नै मत खसालेका छन् । उनी मेयर भए अहिलेको गठबन्धन सरकार लामो समयसम्म रहने र महानगरमा धरै नै बजेट पर्ने आशाले पनि रेणुलाई भोट गएको छ ।
 
वैद्य माओवादीको एक समूह माओवादी केन्द्रसँग एकता गरेको हुनाले त्यो समूहको मत पनि रेणुले खाने आंकलन गरिएको छ ।
 
देवीलाई भोट दिने आधार
 
२०५४ सालको स्थानीय चुनावमा उपमेयर बनेका ज्ञवाली महानगरवासीमाझ पहिलेका मेरा अधुरा कामहरु पूरा गर्न दिनूस भन्दै भोट मागेका थिए । यो कारणले पनि महानगरवासीले एकपटक फेरि देवीलाई हेर्न चाहेका हुन् कि भन्ने आंकलन गरिएको छ ।
 
एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली महानगरवासीको लागि नौलो नाम होइन । चिनेजानेका हिसाबले पनि ज्ञवालीले दुईचार सय भोट बढी खान सक्छन् भन्ने अनुमान गरिएको छ । कांग्रेस र केन्द्रको गठबन्धन नरुचाउने पुराना कांग्रेसका कार्यकर्ताहरुको भोट देवीले खाएका छन् भन्ने विश्लेषण छ ।
 
‘कांग्रेसका भावनामा ठेस पुग्न गएका केही कार्यकर्ताहरुले गठबन्धनलाई भोट दिएनन् कि जस्तो लागेको छ’ कांग्रेस महानगर संयोजक भरत अधिकारीले भने, ‘हामीले हाम्रा कार्यकर्तालाई धेरै बुझाएका छौँ, तर गर्दागर्दै केही भोट यताउति हुनसक्छ ।’
 
चुनावी जोड-घटाउ 
 
भरतपुरमा कुल १ लाख १२ हजार ७४१ मत खसेको छ । यस मतलाई हेर्दा नगर प्रमुखमा विजय हुन ४५ देखि ५० हजार मत ल्याउनुपर्छ । आन्तरिक विवादकै कारण उपप्रमुखमा पनि कांग्रेसले सोचेअनुसार मत पाउन नसके पनि जित्ने सम्भावना भने बलियो देखिएको छ । 
 
आइतबार अपरान्ह १ बजेसम्मको मत परिणाम हेर्दा गठबन्धनको उपप्रमुखमा सबैलाई जित्दै पार्वती शाहले झण्डै २० हजार मत ल्याइसक्दा प्रमुखकी रेणुको १७ हजार १४४ छ । पार्वतीलाई मत दिनेले रेणुलाई नदिएको तथ्यांकले देखाएको छ । 

शेयर गर्नुहोस:

0
Shares