चितवन । नेपाली कांग्रेसले दिनेश कोइरालालाई भरतपुर महानगरको मेयरको उम्मेदवार बनाएको छ । महानगरको मेयर कसलाई बनाउने भन्ने विषयमा कांग्रेस शीर्ष नेताहरुको विवाद बढेको थियो । मंगलबार दिउँसोसम्म पनि उम्मेदवारबको टुङ्गो लाग्न नसक्दा कांग्रेस कार्यकर्ता निराश बनेका थिए ।
मंगलबार उम्मेदवार मनोनयन गर्ने अन्तिम समयमा महासमिति सदस्य दिनेश कोइरालालाई मेयर र महिला संघकी अध्यक्ष पार्वती शाहलाई उपमेयरमा उठाउने निर्णय भएको कांग्रेस चितवनले जनाएको छ । जिल्लामा मनोनयन दर्ता सुरू हुन लाग्दासमेत उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन । काँग्रेसका ३४ जना आकांक्षी र उनीहरुका सहयोगी कांग्रेस केन्द्रीय कार्यालयमै रहेका थिए ।
यसअघि सोमबार सभापति देउवा निकट मानिने मिलनबाबु श्रेष्ठ मेयर हुने व्यापक चर्चा चलेको थियो । चितवनका केही मिडियाहरुले उनलाई नै मेयरका रुपमा उभ्याएक थिए । यस्तै उपमेयरमा मीना खरेलको नाम आएको थियो ।
जिल्लामा उम्मेदवारको टुंगो लगाउन नसकेपछि क्षेत्रबाट आएको सबै ३४ जनाकै नाम काँग्रेस चितवनले केन्द्रमा पठाएको थियो । यस्तै काँग्रेसले उपमेयरका लागि पनि १५ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको थियो । महानगरमा माओवादी केन्द्रले पोलिटव्यूरो सदस्य रेणु दाहाल र एमालेले केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई यसअघि नै उम्मेद्वार उठाउने निर्णय गरिसकेको छ ।
कांग्रेसको मेयरका लागि मुख्य प्रतिष्पर्धीमा कृषि विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे, कोषाध्यक्ष शंकर कँडेल, पूर्व सभापति टेकप्रसाद गुरुङ, पूर्व नगरसभापति मिलनबाबु श्रेष्ठ, जगन्नाथ पौडेल र दिनेश कोइरालाको नाम बढी चर्चामा थियो ।
उपमेयरमा १५ जना आकांक्षी रहे पनि सरिता केसी, मीना खरेल र पार्वती शाह दावेवार थिए । उम्मेद्वार छान्ने प्रक्रियामा प्रेसर घटेपछि केसी अस्पताल भर्ना भएकी थिइन् ।
प्रतिक्रिया