हिमालय खबर संबाददाता-
काठमाडौँ । नेपालकै पहिलो महिला प्रधानन्यायाधीशका रुपमा ०७३ असारदेखि कार्यभार सम्हालेकी सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । सत्ता गठबन्धन माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।
कांग्रेस नेता मीनबहादुर विश्वकर्माको प्रस्तावमा माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको महाभियोग प्रस्तावमा २५९ जना सभासद्ले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्तावमा कांग्रेसका १८९ जना र माओवादीका ६० जना सांसदले हस्ताक्षर गरेका छन् ।
कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको कार्यसम्पादन क्षमताको अभाव रहेको र व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गरेको आरोप प्रधानन्यायाधीशमाथि लगाइएको छ । यस्तै न्यायाधीशहरुमाथि फरक व्यवहार गरेको र न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग पत्रमा उल्लेख छ ।
प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, आइजिपी प्रकरणमा बरियताक्रममा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै सीमित न्यायाधीशलाई मात्रै इजलासमा राखेको आरोप लगाइएको छ ।
प्रस्ताव दर्तासँगै कार्कीलाई निलम्बनका लागि राष्ट्रपति कार्यालयमा पत्र पुगिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार संसदको एकतिहाइ संसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश स्वतः निलम्बनमा परेकी छन् ।
स्मरणरहोस्, न्यायपरिषदले गरेको ८० न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयको विरोधमा नेपाल बार एशोसिएसन प्रधानन्यायाधीश कार्कीविरुद्ध आन्दोलित भएको थियो । उच्च अदालतका न्यायाधीशहरुको नियुक्तिको खारेजी माग गर्दै प्रदेश न्ं २ का कानुन व्यवसायी सम्मिलित बैठकले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउन माग राखेको थियो ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरिएको नेपालको न्यायिक इतिहासमै यो नै पहिलो घटना हो । कार्की आगामी जेठ २४ गते अनिवार्य सेवानिवृत्त हुँदै थिइन् ।
पराजुलीलाई कायममुकायम
यसैबीच, सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशमा गोपाल पराजुली नियुक्त भएका छन् । प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि स्वतः निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पराजुलीलाई दिइएको हो । पराजुली सर्वोच्चको वरिष्ठ न्यायाधीश हुन् ।
गृहमन्त्रीले दिए राजीनामा
गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको बताइएको छ ।
राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे जानकारी लिएका थिए । त्यसपश्चात् मन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरी राजीनामा दिन लागेको जानकारी गराएका थिए ।







प्रतिक्रिया