चितवनको मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीसँग घूस लिएको आरोपमा तीन कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीसँग ६ हजार ५ सय रुपैयाँ नगद लिएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कार्यालयका सुब्बा मनोज निरौला, कम्प्युटर अपरेटर प्रदीप पौडेल र लेखनदास फणीन्द्रराज तिवारी रहेका छन् । इच्छा–कामना गाउँपालिका–६ का इन्द्रबहादुर गरुङको नाममा रहेको लालपुर्जा धनमाया गरुङको नाममा नामसारी गर्ने क्रममा उनीहरुले घूस मागेका थिए ।
कर्मचारीलाई छिटो काम गर्ने सर्तमा ६ हजार ५ सय रुपैयाँ घूस दिएको मोहनबहादुर गुरुङले बताए । घूस बुझाउँदासमेत लालपुर्जा लिन जाँदा आज काम नहुने भनेपछि गरुङ प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा उपभोक्क्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु धिताल, जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा र सिविल पोशाकमा रहेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उपभोक्ता संरक्षण मन्चका उपाध्यक्ष विष्णु धितालले बिहीबार कम्प्युटर अपरेटरलाई पैसा दिँदा आफैँले देखेको बताएका छन् । गुरुङले कम्प्युटर टेक्निसियनलाई ५ सय र लेखनदासले नासुलाई ६ हजार रुपैयाँ दिएको बताएका छन् ।
अनियमितता गर्ने कर्मचारीहरुसँग अनुसन्धान भैरहेको र दोषी देखिए कारबाही गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया