कावासोती । नेपालकै ठूलो धौवादीको फलाम खानीको उद्योगमन्त्री नविन्द्रराज जोशीले अवलोकन गरेका छन् ।
दोस्रो चरणको अन्वेषण भइरहेको खानीको मन्त्री जोशीले उत्खनन् स्थलमै गएर अनुगमन गरेका हुन् । उनले अनुगमन पश्चात नेपाल अबको पाँच वर्षमा फलाममा आत्मनिर्भर हुने दाबी गरे । नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौवादी पोखरीमा रहेको फलाम खानीको अवलोक पश्चात उनले यस्तो बताएका हुन् ।
धौवादीमा रहेको फलाम खानीको जति सक्दो चाडो उत्खनन् गरी देशलाई फलममा आत्मनिर्भर बनाइने र त्यसको लागि निजी क्षेत्रलाई पनि यसमा प्रोत्साहित गरेर अगाडि बढ्ने उनले बताए । धौवादीमा रहेको खानीको उत्खनन्पश्चात यस क्षेत्रको मात्र नभइ समग्र देशको विकासमा टेवा पुग्ने मन्त्री जोशीको विचार थियो ।
यस्तै फलाम खानी उत्खनन्को क्रममा स्थानीयहरु विस्तापित हुने अवस्था आए राज्यले त्यसको उचित व्यवस्थापन गर्ने र खानीमा रोजगारका लागि पनि स्थानीयलाई पहिलो प्राथमिकता दिइने उनले बताए ।
एक वर्षपछि उत्खनन्को काम थालिने र तीन वर्षमा फलाम निकाल्न सकिने मन्त्री जोशिले बताए ।
उनले फलाम खानीबाट उत्पादन भएको फलाम आवश्यक मात्रमा आफ्नो देशका लागि प्रयोग गरी बाँकी विदेशमा निर्यात गरिने बताउँदै यसले नेपालको आयात र निर्यातमा भएको भिन्नतालाई पनि कम गराउन सहयोग पु¥याउने बताए ।
नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ मा रहेको फलाम खानीको दोस्रो चरणको अन्वेषण कार्य अहिले जारी रहेको छ । गएको माघ ६ गते देखि खानी तथा भूगर्भ विभागको टोलीले खानीको अन्वेषण कार्य गर्दै आएको छ । टोलीले खानी रहेको भागमा दुई ठाउँमा ड्रिल गरी होल बनाएर खानीको विस्तृत अन्वेषण कार्य गर्दै आएको छ ।
टोलीले एक नम्बर होलमा ६५ दशमलब २ मिटर र दोस्रो होलमा ४० मिटर ड्रिल गरिसकेको छ । ड्रिल पश्चात भित्रि भागबाट निकालिएका नमुनाहरु संकलन गरी अन्वेषणको लागि पठाइएको खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट नारायण बास्कोटाले बताए ।
खानी रहेको भागको सतहमा पाइएको फलामको मात्र भित्रि भागमा छ छैन भनी विस्तृत अध्ययनअन्र्तगत अन्वेषण भइरहेको उनले बताए ।
यता स्थानीय भने फलाम खानीको उत्खनन् गरिरहँदा आफूहरुको उठिबास हुने हो कि भनी चिन्ता व्यक्त गरेका छन् । उनीहरुले खानी उत्खनन्को क्रममा आफूहरु विस्थापित हुने अवस्था आए त्यसको उचित प्रवन्ध मिलाउनु पर्ने स्थानीयको माग रहेको स्थानीय चन्द्रबहादुर मगरले बताए ।
धौवादीको पोखरीमा रहेको फलाम खानी उत्तरमा ल्हापे, दक्षिणमा रूम्सी, पूर्वमा धौवादी र पश्चिममा नाम्जाकोटसम्म १० किलोमिटरको क्षेत्रमा फैलिएको छ । खानीको उचितरूपमा उत्खनन् गर्न सक्ने हो भने समग्र देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने छ । यसका लागि सरकाले जति सक्दो चाडो फलाम खानी उत्खनन्का लागि पहल गर्न आवश्यक रहेको छ ।
प्रतिक्रिया