मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एउटी आमाको भरमा ४५ सन्तान

एउटी आमाको भरमा ४५ सन्तान


मोरङ – एउटी महिलाका सन्तान ४५ जना छन् भन्दा कसैले पत्याउँदैन । तर उर्लाबारीकी मीना बरालका भने ४५ जना सन्तान छन् । 
 
तर, मीनाले ती ४५ सन्तान आफूले जन्माएका भने हैनन्, सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका उनले निर्वाह गरिरहेकी छन् । 
 
सुरूका दिनमा बालगृह सञ्चालन गर्दा ‘कमाइखाने’ भाँडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भनेर चिन्ता लागेको थियो । तर, सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणीय महिलासमेत बनेकी छन् । उनी भन्छिन्, ‘अहिले सुरूमा विरोध गर्नेले अहिले मलाई सकारात्मकरूपमा लिएका छन् ।’ मीनाले कसैको सहयोगबिना नै १६ वर्षअघि आठ अनाथ बालबालिकालाई आफ्नै घरमा लगेर पालिन् । 
 
हाल मीना अध्यक्ष रहेको नमुना बालगृहमा ४५ बालबालिका छन् । वैवाहिक जीवनको सुरुआतबाटै दुःखकष्ट बेहोर्नु परेपछि बाँकी जीवन अनाथका लागि सुम्पने निर्णय गरेकी मीना अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय र प्रशंसनीय महिला बनेकी छन् । 
 
यो क्षेत्रमा अहिले उनको कामको प्रशंसा नगर्ने व्यक्ति कमै भेटिन्छन् । २०५७ सालमा सात अनाथ बालबालिकालाई घरमा ल्याएर पाल्न सुरू गरेकी मीनालाई अहिले स्थानीय १४ महिलाले सहयोग गरिरहेका छन् । उनले २०५७ साल साउन १९ गते महिला विकास केन्द्र र बालबालिका चेतना केन्द्रका रूपमा नमुना शिक्षा सदन दर्ता गरेकी थिइन् । 
 
उर्लाबारी, राजघाट, पथरी, दमकलगायत क्षेत्रका मानिसबाट सहयोग उठाएर सुरुका दिनमा सञ्चालन भएको यस संस्थामा हाल रु तीन करोडभन्दा बढी सम्पत्ति जम्मा भइसकेको छ । उर्लाबारी–४ स्थित यस संस्थाको नाममा १७ कट्ठा जग्गासहित २२ कोठे भवनसमेत बनिसकेको छ । 
 
मुगु, भक्तपुर, धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथरलगायत २० जिल्लाका नर्सरीदेखि  बाह्र कक्षासम्म पढ्ने बालबालिका यस संस्थामा छन् । रासस 

शेयर गर्नुहोस:

0
Shares