मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक विस्तारमा भित्तो काटिएका ठाउँ जोखिमपूर्ण

नारायणगढ–मुग्लिन सडक विस्तारमा भित्तो काटिएका ठाउँ जोखिमपूर्ण


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सडक विस्तारको काममा भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।  साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ । 
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदैछ । ती ठाउँमा बढीमा ६० मिटरसम्म अग्लो ठाउँबाट भित्तो काटेर सडक फराकिलो बनाइँदैछ । 
 
कालीखोलाबाट मुग्लिनसम्मको सडक हाल ५ दशमलव पाँच मिटरमात्रै फराकिलो छ । उक्त ठाउँमा नौ मिटर चौडा बनाउनुपर्ने हुन्छ । जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दै तल झर्नुपर्ने खनालले बताए । सो क्रममा चट्टान झर्न सक्ने, थर्किएर पहिरो खस्न सक्ने सम्भावना रहेको प्राविधिक बताउँछन् । 
 
सोमबारेमात्रै घुमाउनेमा खसेको चट्टानी पहिरोले अरु सजगता अपनाउनुपर्ने सङ्केत गरेको छ । उक्त पहिरोले पाँचवटा सवारीका साधनलाई पुर्दा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । खनालले अप्रत्यासित रुपमा पहिरो खसेको बताए ।
 
सो क्षेत्रमा ४८ मिटर माथिबाट भित्तो काट्ने काम भइरहेको छ । दुईवटा लोडर र दुईवटा एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको क्षेत्रमा पहिरो खसेको हो । सडकबाट करिब २० मिटर माथिबाट चट्टानको ढिस्को झरेको उनले बताए । तीन÷चार दिनदेखि परेको पानी चट्टानभित्र पसेर ढिस्को झरेको अनुमान गरिएको छ । 
 
सो आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले पानी पर्दा र नपर्दा भित्तो काटिएको ठाउँमा सावधानी अपनाउनै पर्ने बताए । जबसम्म भित्तो काटिएका ठाउँमा घाँस पलाउँदैन तबसम्म खतरा रहिरहने भन्दै उनले धेरै डराउनुपर्ने तर सावधानी भने अपनाउनै पर्छ भने । 
 
नयाँ भित्तो काटिएका ठाउँमा जहाँकहीँ जोखिम हुने भन्दै उनले हावाहुरी र बढी सुख्खा हुँदासमेत ती क्षेत्रमा ढुङ्गा र पहिरो खस्न सक्ने हुँदा सावधानी अपनाएरमात्रै यात्रा गर्न उहाँले आग्रह गरे । सकेसम्म कम जोखिम होस् भन्नका लागि झर्न लागेका ढिस्का झारेर सडकलाई कम जोखिम बनाउन लागिपरेको उनले बताए । 
 
यसअघि नै आयोजनाले साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ । आउँदो पुस महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उनले बताए । सो सडक हुँदै दैनिक सात हजार सवारी साधन आवातजावत गर्ने गर्छन् । 

शेयर गर्नुहोस:

0
Shares