काठमाडौँ । ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न भनेर स्थापित सहकारी तथा गरिबी निवारण मन्त्रालय आफैँ गरिब भएको छ ।
अर्थमन्त्रालयले सो मन्त्रालयलाई गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न भनेजति रकम विनियोजन नगरेपछि र गरिबी निवारणसम्बन्धी कार्यक्रम आफ्ना मन्त्रालयको भन्दा अरु मन्त्रालयको प्राथमिकता भएका कारण दिनप्रतिदिन गरिबी निवारण मन्त्रालय झन् गरिब भन्दै गएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)द्वारा आजदेखि यहाँ आयोजित लेखा सुपरीक्षण समितिको राष्ट्रिय गोष्ठी, २०७३ लाई सम्बोधन गर्ने क्रममा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बजेट अभाव भएका कारण मन्त्रालय दिनप्रतिदिन गरिब बन्दै गएको बताए ।
उनका अनुसार विभिन्न १४ वटा मन्त्रालयका ४९ वटा कार्यक्रम गरिबी निवारणसम्बन्धी रहेका छन् । गरिबी निवारणका लागि अरबौँ लगानी गर्ने गरिबी निवारणकोष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, युवा स्वरोजगार कोषका कार्यक्रम अर्थमन्त्रालय र गरिबसित विश्वेश्वर कार्यक्रम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत सञ्चालित छन् ।
मन्त्री थामीले भने– ‘नाममात्र रह्यो सहकारी तथा गरिबी निवारण मन्त्रालय काम भने हुन सकेन, अर्थ नभएका कारण यो मन्त्रालय झन् गरिब हुँदै गएको छ ।’ दुईदिने सो गोष्ठीमा विभिन्न जिल्लाका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका लेखा सुपरीवेक्षण समितिमा कार्यरत ४५० जनाको सहभागिता रहेका छन् । बचत तथा ऋण सहकारी संस्थामा वित्तीय अनुशासन र स्वनियमका बारेमा सहभागीलाई प्रशिक्षित गराइनेछ ।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका सहकारी प्रवद्र्धन गर्न सहकारी ऐनलाई संशोधन गर्नुपर्ने माग गर्नुभयो । हाल मुलुकभर ३४ हजार सहकारी सस्था रहेका छन् । यसका करिब ६० लाख सहकर्मी आबद्ध रहेका छन् ।
नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले सहकारीलाई आर्थिक विकासको अभियानका रुपमा आफ्नो संस्थाले अगाडि बढाइरहेको जानकारी दिए । पूर्वअध्यक्ष ऋषिराज घिमिरे, उपाध्यक्ष परितोष पौड्याल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, सहकारी विभागका रजिष्ट्रार केशव रेग्मीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया