मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुग्लिनको पहिरोमा नौ सवारी साधन पुरिए, दुईजनाको मृत्यु

मुग्लिनको पहिरोमा नौ सवारी साधन पुरिए, दुईजनाको मृत्यु


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर–२० स्थित कविलासको घुमाउने भन्ने ठाउँमा सोमबार सुख्खा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । 
 
पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
मृतकको सनाखत हुन सकेको छैन । लमजुङका १५ बर्षीय सञ्जीव राना र वीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पहिरोमा परी पाँचवटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ । 
 
बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ । 
 
शनिबारदेखि परेको पानीका कारण नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा ढिस्को खस्दा सवारी साधन पुरिएको बताइएको छ । अहिले घाइतेको उद्धारकार्य जारी रहेको छ ।
 
यस सडकखण्डमा सडक विस्तारको काम भइरहेको छ । यही १५ गतेदेखि हरेक बिहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार भइरहेको छ । 
 
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका एसपी दीपक थापालगायतका सरकारी टोली घटनास्थल पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार सोमबार सडक खुल्ने सम्भावना निकै कम छ ।