चितवन । पूर्वीचितवनको रत्ननगर–१८ कुमरोजमा रहेको ढुङ्ग्रेखोलाको सरसफाइ अभियान आइतबारदेखि सुरू गरिएको छ ।
ढुङ्ग्रेखोला दिन–प्रतिदिन प्रदूषित हुँदै गएपछि कुमरोज वरपरका सामाजिक संघसंस्थाहरुको सक्रियतामा सरसफाइ अभियान चलाइएको हो ।
स्थानीय पोजेटिभ सोसाइटी नेपालको आयोजना एवम् लियो क्लब अफ चितवन सौराहाको सहआयोजनामा सरसफाइ गरिएको हो ।
कार्यक्रमका लागि जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह तथा कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले आर्थिक सहयोग गरेको थियो ।
पोजेटिभ सोसाइटी नेपालका पुजन अधिकारीको संयोजकत्वमा भएको कार्यक्रम जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव ऋषिराम गुरुङको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रत्येक महिनाको एकपटक ढुङ्ग्रेखोला सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमसहित सो अभियानलाई निरन्तरण दिइने संयोजक अधिकारीले जानकारी दिए ।
ढुङ्ग्रेखोलालाई व्यवस्थित एवम् प्रशोधित गर्न सकिए सो क्षेत्र पर्यटकीय गन्तव्यका लागि उपयुक्त स्थल बन्ने संयोजक अधिकारीको धारणा छ ।
चितवन निकुञ्जको नजिक भएकाले पर्यटकका लागि ढुङ्गा सयर, वर्ड वाचिङ, स्वीमिङका साथै साइडसिनका हिसावले ढुङ्ग्रेखोला महत्वपूर्ण रहिआएको छ ।
प्रतिक्रिया