मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गौतमबुद्धको आदर्शलाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

गौतमबुद्धको आदर्शलाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, अहिंसा, करुणा, सदभाव र मित्रताका आदर्श पुरुष भगवान् गौतमबुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह गरेकी छन् । 
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित ४१औँ लामागुरु अध्ययन भ्रमणको राष्ट्रपति कार्यालय शीतलनिवासमा समापन गर्दै राष्ट्रपति भण्डारीले भनिन्– “ती आदर्श वचनलाई हरेक मानवले आफ्नो जीवनमा आत्मसात् गरी अगाडि बढेमा मात्र समाजमा शान्ति कायम गर्न बल पुग्छ र हिंसा हत्या अन्त्य हुन्छ ।” 
 
बुद्धका आदर्श र सन्देशलाई समाजमा थप स्थापित गर्न आवश्यक रहेकामा पनि उनले जोड दिइन् । उनले बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुजातीय देशको विविधतालाई सरकारले संरक्षण तथा प्रवद्र्धन गरिरहेको बताउँदै आगामी दिनमा यस क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सरकारसित आग्रहसमेत गरिन् । 
 
राष्ट्रपति भण्डारीले केन्द्रीय गुम्बा स्थापना गर्न विकास समितिको बजेट थप गर्न आफूले पहल गर्ने जानकारीसमेत दिएकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले अध्ययन भ्रमणका सहभागीलाई प्रमाणपत्र वितरणसमेत गरिन् । 
 
सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले बौद्ध दर्शन प्रवद्र्धन गर्न भ्रमण सफल रहेको बताए । समितिका कार्यकारी निर्देशक नरेन्द्र गुरुङले केन्द्रीय गुम्बा स्थापना गर्न र समितिका कार्यक्रमलाई कार्यान्वयन गर्न थप बजेटको आवश्यकता रहेको बताए । 
 
बुद्धधर्म र दर्शनका बारेमा अध्ययन गर्न समितिले हरेक वर्ष लामागुरु अध्ययन भ्रमणको संयोजन गर्दै आएको छ । विभिन्न ३० भन्दा बढी जिल्लाका लामागुरुले यस पटक नेपालसहित भारतका खासगरी दार्जिलिङ, गान्तोक र सिक्किमका विभिन्न गुम्बा अध्ययन गरेका थिए । 
 
नौदिनको अध्ययन अवधिको अन्तिम दिन राष्ट्रपतिद्वारा भ्रमणको समापन गर्ने परम्परा रहिआएको छ । विसं २०३६ मा सो विकास समिति स्थापना भएको थियो । 
 
समितिका दर्ता भएका करिब दुई हजार तीनसय गुम्बामध्ये २०७२ वैशाख १२ गतेको भूकम्पबाट एक हजार तीन सय १८ गुम्बामा क्षति पुगेको थियो । ती गुम्बाको पुनर्निर्माणमा बजेटको अभाव भएकोसमेत जनाइएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares