भीमदत्तनगर । दुई साताअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप रु २५ हजार प्रदान गरेका छन् ।
कञ्चनपुर कारागारमा बिहान पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका सहिद गौतमको सम्मानस्वरुप परिवारलाई रु २५ हजार र सोही आक्रमणमा परी घाइते भएका टीकाराम चापागाईंको उपचारका लागि रु आठ हजार चार सय १४ प्रदान गरेका हुन् ।
कैदीबन्दीका तर्फबाट नाइके टेकराज जोशीले कारागार कार्यालयका प्रमुख श्यामराज भट्टलाई उक्त रकम प्रदान गरेका हुन् । ‘कैदीबन्दीलाई राज्यले दिएको खानाले पेटसमेत भर्न गाह्रो छ’, नाइके जोशीले भने, ‘तर पनि सामाजिक उत्तरदायित्व ठानेर कैदीबन्दीले रकम सङ्कलन गरी हस्तान्तरण गरे । माटो बचाउन लडेका गौतमको सम्मानका लागि हामीहरुले खाना खर्चबाट रकम कटाएर रु २५ हजार दिएका हौँ । रकमभन्दा पनि कैदीबन्दीले उहाँप्रति सम्मान व्यक्त गरेका हुन् ।’
कञ्चनपुरका कैदीबन्दीले सो घटनामा भारतले माफी माग्नाका साथै उचित क्षतिपूर्ति, सहिद परिवारलाई दिनुपर्ने मागसमेत गरेका छन् । रकम बुझ्दै कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले उक्त रकम परिवारलाई बुझाउन प्रजिअलाई हस्तान्तरण गरिने बताए । कल्भर्ट निर्माणका विषयलाई लिएर आनन्द बजारमा नेपाली पक्षमाथि गोली चलाउँदा गत फागुन २६ गते गौतमको निधन भएको थियो । रासस







प्रतिक्रिया