मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने : खनाल

सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने : खनाल


म्याग्दी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेव)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन् । 
 
नेकपा (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
 
आगामी वैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै उनले निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पुग्ने धारणा राखे । ‘सङ्घीयतामार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिकामार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधामात्रै होइन, आफ्नो गाउँठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ’– उनले भने । 
 
उनले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताजस्ता मुद्दा स्थापित भएको बताउँदै ती मुद्दालाई संस्थागत गर्न स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड दिए । उनले मधेसमा देखिएको समस्यालाई सरकारले राजनीतिक रुपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाव कसैले चाहेर नरोकिने बताए ।
 
उनले प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराईलाई जोड्ने गरी ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न लागिपरेको धारणा राखे । 
 
तत्कालीन माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका खनालले जनताको अधिकार स्थापित गर्न माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै नयाँ संविधानको कार्यान्वयन हुन सकेमा मात्रै माओवादी आन्दोलन र जनयुद्धको लक्ष्य पूरा हुने बताए । 

शेयर गर्नुहोस:

0
Shares