मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेपत्ता भएको पाँच महिनापछि फेसबुकले गरायो मिलन

बेपत्ता भएको पाँच महिनापछि फेसबुकले गरायो मिलन


अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस–५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे  ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् । 
 
‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनकोे फेसबुकमा फोटा देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले । 
 
उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो, दीपक अझै जिउँदै रहेछन् । परिवारले  खुसी हुँदै मसँग फोन सम्पर्क गरे समाजसेवी सहयोगी बिसीले भने ।
 
दीपक अर्घाखाँचीमा मसँग सुरक्षित हुनुहुन्छ भन्ने खबर दिए त्यही आधारमा बुबा रामबहादुर बिष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए । ‘जतिबेला उनी तीन जनाको भेट भयो एक किसिमको रुवावासी भयो ।’ खुसीका आँसु अनि एक आपसमा झम्टेर रुँदा हाम्रा आँखाबाट बर्बरी आँसु आयो बिसीले भने ।
 
‘दुई छोरी र एक छोराका पिता जो बोल्दै नबोल्ने, केही नभन्ने, नमाग्ने मान्छे बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आर्शीवाद दिँदा खुसीको सीमा रहेन’ बिसीले बताए । 
 
झन्डै १० वर्ष पहिला इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेरगएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए । 
 
उनलाई  सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ । एउटा बेवारिसे व्यक्ति देखेर दुई,चारघन्टा समय दिँदा एउटा परिबारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी साह्रै खुसी छन् । रासस