काठमाडौँ । नेकपा (एमाले)का उपनेता सुवास नेम्वाङले व्यापक सहमति गरेर बनाइएको संविधानको प्रभावकारी कार्यान्वयन गर्न सबै दल एक ठाउँमा उभिनु अपरिहार्य रहेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा नेता नेम्वाङले समय माग गर्दै स्थानीय, प्रादेशिक र सङ्घीय तीनै तहका निर्वाचन आगामी २०७४ माघ ७ गतेभित्र गर्ने वातावरण बनाउनकै लागि एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको जानकारी गराए ।
उनले भने, “सबै एक जुट हुँदा विगतमा निरङ्कुश शासकविरुद्ध आन्दोलन सफल भयो, समावेशी संविधान जारी ग¥यौँ, अब यसको कार्यान्वयनमा पनि एकजुट हुनुपर्छ ।”
नेता नेम्वाङले कुनै शङ्का उपशङ्का नगरी निर्वाचनमा लाग्न सबै दललाई आग्रह गरे । मुलुकको इतिहासमै स्थानीय तह अधिकारसम्पन्न भएको बताउँदै उनले संविधानमार्फत अधिकार र विकास जनताको घरमा एकैचोटि पुगेको जिकिर गरे ।
संविधान संशोधन तत्काल पारित हुने अवस्था नभएकाले दलहरु आआफ्ना घोषणापत्र लिएर जनतामाझ जानुपर्ने बताउँदै उनले भने, “दलहरुबीच देखिएको राजनीतिक बहसको छिनोफानो जनताले नै गर्ने छन् ।”
यसैगरी मंगलबारको बैठकको शून्य समयमा भक्तबहादुर विश्वकर्मा ९खपाङ्गी० ले राज्यकोषबाट पूर्वराष्ट्रसेवकलाई प्रदान गरिने निवृत्तिभरण र सुविधालाई सहज तथा समान रुपमा वितरण हुने व्यवस्था गर्नुपर्ने माग गरे ।
सांसद भरतबहादुर खड्काले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले राज्यलाई तिनुपर्ने कर नतिरेकामा आपत्ति जनाउँदै उक्त कर जनताको पैसा भएकाले राज्यको ढुकुटीमा आउनुपर्नेमा जोड दिए ।
सांसद भोटनीदेवी खवासले मोरङ क्षेत्र नं ६ को बाटो निर्माण गर्न सरकारसँग माग गरिन् ।
सांसद रञ्जना श्रेष्ठले नेपाल भारत सिमानामा भारतबाट पटक–पटक थिचोमिचो हुँदै आएको छ भन्दै यसमा सरकार किन चुप लागेको भनी प्रश्न गरिन् । रासस
प्रतिक्रिया