नेपाल

सत्र वर्षदेखि साङ्लोमा बाँधिएका लीलाको उपचार हुने

सत्र वर्षदेखि साङ्लोमा बाँधिएका लीलाको उपचार हुने


सुरुङ्गा (झापा) । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका झापा राजगढ–८ का लीलाप्रसाद चम्लागाईंको निःशुल्क उपचार हुने भएको छ । 
 
उनको उपचार विर्तामोडस्थित बिएन्डसी हस्पिटलले निःशुल्क गर्न लागेको हो । राष्ट्रिय समाचार समितिले फागुन ३० गते दिवा सेवामा साङ्लोमा बाँधिएका लीलाको तस्बिरसहितको समाचार प्रकाशनमा ल्याएपछि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले उनको उपचार निःशुल्क गर्ने घोषणा गर्दै आज बिहान  सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीसहितको टोली चम्लागाईंको घरमा पुगेर उनको उद्धार गरेको थियो । 
 
अस्पतालका कार्यकारी निर्देशक प्रसार्इंले भने– “लीलाको  उपचार म गर्छु, यस अस्पतालमा उनको उपचार सम्भव नभए  विदेशमा लगेर पनि रोग निको पारेर मात्रै घर पठाउँछु ।”
 
लीलालाई मंगलबार नै अस्पताल भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ । अस्पतालका मानसिक रोग विशेषज्ञ डा सन्दिप बर्मासहितको चिकित्सकको टोलीले उनको उपचार गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । 
 
लीलाको उद्धारका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा सन्दिप, सहायक प्रमुख जिल्ला अधिकारी तिवारी, महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत रेखनाथ दाहाल, सञ्चारकर्मी, प्रहरी, मानअधिकारकर्मीको टोली उनको निवासमा पुगेको थियो ।  
 
आर्थिक अभावका कारण लीलाको उपचार गर्न नसकिएको भन्दै आमा जानुकाले  छोराको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरेको समाचार राससले प्रकाशनमा ल्याएको थियो । 
 
लीलाका चार दिदीबहिनी छन् । तीन जनाको विवाह भइसकेको र एकजना बहिनी कक्षा– ४ मा पढ्छिन् । जेठी श्रीमतीबाट छोरा नजन्मिएको भन्दै जानुकाका श्रीमान दुर्गा चम्लागाईले कान्छी  श्रीमती नर्वदालाई २०५० सालमा भित्र्याएका थिए । लीला भने २०५४ सालमा जन्मिएका हुन् । उनी जन्मदै शारीरिक असक्त थिए । 
 
यता कान्छी श्रीमती नर्वदाका  दुई छोरा र दुई छोरी छन् । पारिवारिक अवस्था कमजोर बनेपछि दुर्गा वैदेशिक रोजगारीको सिलसिललामा साउदी अरब गएको बताइएको छ । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि लीला र कान्छी छोरीको  रेखदेख आमा जानुकाले गर्दै आएकी थिइन् । 
 
 
बिएन्डसीको सराहनीय कार्य
लीलाको उद्धारका लागि पुगेका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले  बिएन्डसी अस्पतालको कार्य सराहनीय रहेको भन्दै अस्पताल सञ्चालकलाई धन्यवाद ज्ञापन गरे । उनले अस्पतालतको सो कार्यप्रति खुशी व्यक्त गर्दै–“राज्यस्तरबाट हुन नसकेको काम निजी क्षेत्रबाट भएको देख्न पाउँदा खुसी लाग्यो, म लीलाको उपचारका लागि तदारुकता देखाउने अस्पताल परिवार र कार्यकारी निर्देशक प्रसार्इंजीलाई धन्यवाद दिन चाहन्छु ।” रासस