राजविराज (सप्तरी) । प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् ।
राजविराज–९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भए पनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।
यसैगरी मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयमा समेत तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन् ।
तोडफोडबाट भाडामा रहेको उक्त कार्यालयको झ्याल ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ । आन्दोलनको तेस्रो दिन अत्यन्त आक्रमक रुपमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्यकर्ताले एमाले सर्मथक एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवद्वारा सञ्चालित राजविराज–९ तेतरी गाछीस्थित ‘लिटिल फलावर’ सेकेन्ड्री स्कुलमा पनि तोडफोड गरिएका छन् । स्कुलमा रहेका कुर्सी टेबुल, झ्याल ढोकालगायतका फर्निचर तोडफोड गरिएको बताइएको छ ।
त्यस्तै राजविराज–५ स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा रहेको पार्टीको झन्डा झिकेर जलाइएको छ । त्यसैगरी स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
तोडफोडका कारण कार्यालयको साइनबोर्ड तथा झ््याल र ढोकामा क्षति पुगेको छ । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज–४ स्थित घरमा पनि आन्दोलकारीले ढुङ्गामुढा गरी सामान्य क्षति पु¥याएको प्रहरीले बताएका छन् । रासस






प्रतिक्रिया