मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय पक्षले दशगजा मिचेर संरचना निर्माण सुरु

भारतीय पक्षले दशगजा मिचेर संरचना निर्माण सुरु


पथरी (मोरङ) । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियमविपरीत संरचना निर्माण गरिरहेको छ । 
 
भारतीय पक्षले विराटनगरको वडा नं २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो । 
 
यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको झन्डै २२ फिट पश्चिमतर्फ रहेको अस्थायी संरचना भत्काएर जोगबनी भन्सारले त्यति नै पूर्वतर्फ सारेर संरचना निर्माण गरिरहेको छ । सो ठाउँमा हाल २२ बाई २० फीटको पक्की संरचना निर्माण भइरहेको छ । 
 
यसअघि विसं २०४४ सालमा समेत जोगबनी भन्सारले सो ठाउँमा पक्की संरचना निर्माण गर्ने प्रयास गरेपछि आफूहरूले रोक लगाएको वडा नं २२ का तत्कालीन अध्यक्षसमेत रहिसकेका मुस्लिम मियाँले जानकारी दिए । 
 
जोगबनी भन्सारले उक्त ठाउँमा तीन दिनअघिदेखि नै संरचना निर्माणको काम सुरू गरे पनि सरोकारवाला निकाय बेखबर झैँ थिए । 
 
सो विषयमा प्रतिक्रिया दिँदै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आफूले समेत सोमबार मात्र संरचना निर्माण भइरहेको थाहा पाएको बताए । उनले भने– ‘भन्सार प्रशासनसहित सरोकारवालासँग छलफलको पहल गर्छु ।’ 
 
जोगबनी भन्सारले सो ठाउँमा संरचना निर्माण गरेर सामान चेकजाँच गर्ने एक्सरे मेसिन राख्न लागेको बताइएको छ । भन्सार क्षेत्रमा सुरक्षाका अत्याधुनिक उपकरण राख्ने विषय दुवै पक्षका लागि सकारात्मक भए पनि दशगजा क्षेत्र मिचेर भइरहेको निर्माण कार्य अविलम्ब रोकिनुपर्ने स्थानीयको भनाइ छ । रासस