कावासोती । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाम धार्मिक केन्द्रका रुपमा विकास हुने भएको छ ।
हिन्दू धर्मावलम्बीका लागि ठूलो आस्थाको केन्द्रका रुपमा चौधरी ग्रुपद्वारा निर्मित धामलाई विकास गरिन लागेको हो । ऐतिहासिक किंबदन्तीका आधारमा शक्तिशाली मानिएका ७५ ठाउँको विशेषता यहाँ पाइन्छ । परशुराम, स्वर्गद्वारी, रिडी, डोलेश्वर, पशुपतिनाथ, मुक्तिनाथ, गोसाइँकुण्डलगायत ठाउँका प्रतिरुप यहाँ राखिएको छ, जहाँ मुक्तिनाथको जलसमेत पाइन्छ ।
सिजीका सीएसआर प्रमुख रामचन्द्र धितालले भने, ‘यसलाई विश्वका हिन्दूहरुको गन्तव्यस्थलका रुपमा निर्माण गरिएको छ, शाश्वत धाम सर्वोतीर्थ सरोवरका रुपमा समेत रहेको छ ।’
उद्योगपति विनोद चौधरीको परिकल्पनामा विसं २०६० देखि निर्माण थालिएको सो धाम १४ वर्षमा सम्पन्न गरिएको हो । ‘यसमा इन्जिनियर नारायण श्रेष्ठको डिजाइज रहेको छ र परिकल्पना र डिजाइज दिने काम विनोदबाबुले गरे । त्यसलाई उतार्ने काम नारायणजीले गरेका हुन्’, धितालले भने ।
सात बिघा क्षेत्रफलमा निर्माण गरिएको धाममा गुरुकुल पनि रहेको छ, जहाँ १० जिल्लाका २९ बालबालिका अध्ययनरत छन् । धाममा चौधरीका पिता लुनकरण दासको अस्तु राखिएको समाधि र सालिकसमेत निर्माण गरिएको छ । झट्ट हेर्दा यहाँ पसेपछि कोही पनि निस्कन खोज्दैन ।
बाह्र राशि र २७ नक्षत्रका बोटसमेत यस क्षेत्रमा रहेका छन् । खजुरवाना शैलीमा भारत गुजरातका इमान हुसेन कालीगढले धामको निर्माण गरेका हुन् । अत्यन्त कलात्मक रुपमा निर्माण भएको सो धाम मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । यहाँको वातावरणीय सुन्दरता पनि औधि राम्रो छ ।
‘यहाँ ऐतिहासिकता झल्कने अन्नपूर्ण भोजनालयसमेत रहेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले एकपटक पूर्वपश्चिम हिँडेका जो कोही पनि यहाँ रोकिने अवस्था आएको छ’ दिव्यपुरीका बासिन्दा तिलप्रसाद पाठकले भने ।
चितवनको भरतपुर विमानस्थल ओर्लेर २२ किमी यात्रा गरेपछि यहाँ सजिलै आउन सकिन्छ । लुम्बिनी आउने राजमार्ग पनि यहीँ भएकाले त्यहाँबाट दुईदेखि साढे दुई घन्टाको बस यात्राबाट शाश्वतधाम आउन सकिन्छ ।
नेपालको धार्मिक गन्तव्यका रुपमा समेत यसलाई लिन सकिन्छ । धामक्षेत्र वरपरका बासिन्दा धामले गर्दा यहाँको रमणीय सुन्दरता बढेको बताउने गरेका छन् ।
‘दुम्कौलीसँगै सिङ्गो देवचुली नगरपालिकालाई धार्मिक गाउँको रुपमा विकास हुने अवस्था आयो’ स्थानीयवासी दीपक शर्माले भने, ‘विनोदबाबुले यो ठाउँ उद्योग र धार्मिक क्षेत्रको रुपमा चिनाए ।’ धार्मिक जागरणसमेत ल्याउने काम यो धामको निर्माणले हुने शर्माले बताए ।
देवचुली र वरचुलीको काख नारायणी नदीको समीपमा भएकाले यसको धार्मिक मह¤व झन् बढी रहेको स्थानीयवासी बिना न्यौपाने बताउँछिन् । ‘भौगोलिक हिसाबले सुगम भएकाले यहाँ आउन चाहना राख्नेहरु सजिलै आउन सक्छन्’ उनले भनिन्, ‘भगवान् राम वनवास गएको समय जति यो निर्माण गर्न लागेछ, यो संयोग हेर्नेहोस् त कस्तो मिलेको ।’
यस क्षेत्रका वृद्धवृद्धाले आस्थाको पुञ्जका रुपमा तथा युवा पुस्ताले यसलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बुझेका छन् । धामले सबै नेपालीलाई जोड्ने काम गरेको स्थानीयवासीको बुझाइ छ । हिन्दू, बौद्ध, शिख सबैलाई यसले एक ठाउँमा उभिन सहयोग पु¥याउने विश्वास स्थानीयवासीले लिएका छन् । रासस
प्रतिक्रिया