मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड

दुई कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड


राजविराज (सप्तरी) । प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् ।  
 
नेकपा (एमाले)द्वारा आयोजित मेची–महाकाली अभियानको विरोधमा विगत चार दिनदेखि आन्दोलनमा रहेका कार्यकर्ताले सोमबार राजविराज औद्योगिक क्षेत्रमा आफ्ना सहकर्मीको प्रहरीद्वारा हानिएको गोलीबाट मृत्यु भएको  विरोधमा मोर्चाले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नाका साथै दुई सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।  
 
प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय र नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । 
 
‘कार्यकर्ताको मृत्यु हुँदा कुनै पनि सहयोग नगरेको’ जनाउँदै प्रदर्शनकारीले मंगलबार राष्ट्रिय मानवअधिकार आयोगको गाडीसमेत तोडफोड गरेको त्यहाँ उपस्थित कर्मचारीले बताएका छन् ।   
 
जिल्ला प्रशासन कार्यालय अगाडि राखिएको आयोगको बा ७ च ७४७३ नंको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेको बताइएको छ । गाडी तोडफोडपछि त्यसमा रहेका चार जना कर्मचारी जिल्ला अदालतमा सुरक्षाका लागि बसेका छन् । अहिले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालयलगायत सरकारी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । 
 
प्रदर्शनकारीले घटनाको छानबिन, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, मृतकलाई सहिद घोषणा र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै नगर परिक्रमासमेत गरेका छन् ।  
 
एमालेको कार्यक्रम बिथोल्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ भएको झडपमा मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मङ्गलबार र बुधबार मधेस बन्द आह्वान गरिएको छ ।