मधेसी मोर्चाको संविधान संशोधनमा चितवन जिल्लालाई टुक्र्याउने प्रस्तावले चितवनमा नयाँ तरंग पैदा भएको छ ।
चितवनलाई टुक्राउन नदिने यहाँका दलका प्रमुख एवम् प्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन् । विवाद नरहेको प्रदेश नम्बर–३ को चितवन मधेसी दलहरुको संशोधन प्रस्तावले विवादमा तानिएको छ । यहाँ राजनीतिक दल र सर्वसाधारणले चितवन कुनै पनि हालतमा टुक्रन नदिने प्रतिक्रिया दिएका हुन् ।
तराई मधेसमा दुई प्रदेशको पुरानै माग समेट्नुपर्ने भन्दै मोर्चाले संशोधन विधेयकमा संशोधन दर्ता गरेको छ । जसअन्तर्गत चितवनका १० गाविस र निकुञ्जसहित पूर्वीतराईको एक प्रदेश तथा नवलपरासी पश्चिमदेखि कञ्चनपुरसम्मको अर्को प्रदेश बन्नुपर्ने प्रस्ताव मोर्चाले गरेको छ ।
चितवन उपत्यका गुरूयोजना निर्माण समितिका तत्कालीन संयोजक विजय सुवेदीले चितवन टुक्र्याउनेभन्दा पनि यसको क्षेत्र थप विस्तार गर्नुपर्ने बताएका छन् ।
नवलपरासीको दाउन्नेदेखि चितवनतर्फको भाग र मकवानपुको महनहरिसम्म तथा पर्सा जिल्लाको ठोरीसमेत समेटेर वृहत चितवनको परिकल्पना गरी कार्यान्वयन गरिनुपर्नेमा भएको चितवन पनि टुक्रा पार्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने संयोजक सुवेदीले बताए ।
उनले भने, ‘वृहत चितवनभित्र चार हजार ७८८ वर्ग किमि क्षेत्र पर्छ, हामीले ६ वर्ष अघि नै रात दिन नभनी वृहत चितवन र यसको विकास खाकासमेत तयार पारेका थियौं तर आज राजनीतिक स्वार्थका लागि चितवनको अस्तित्व नै गुम्ने गरी विभिन्न खेलहरु भएका छन्, त्यो खेलप्रति हाम्रो आपत्ति छ ।’
०६७ सालमा तत्कालीन चितवन उपत्यका गुरूयोजना निर्माण समितिले वृहत चितवनको अवधारणासहित राष्ट्रिय योजना आयोग, तत्कालीन प्रधानमन्त्री, राजनीतिक दलका प्रमुखलाई प्रतिवेदन बुझाएको थियो ।
यसअघि पनि चितवनलाई ४ टुक्रामा विभाजन गर्न लागिएकोमा अखण्ड चितवन भन्दै जिल्लाका सबै राजनीतिक दल मिलेर आन्दोलन भएको थियो । ‘हामी सकेसम्म ४ नम्बर प्रदेशको दाउन्ने सम्मको भाग पनि यतै मिसाइ चितवन उपत्यका विकास प्राधिकरणमार्फत समग्रमा विकास चाहेका थियौँ, संयोजक सुवेदीले भने,‘राजनीतिक घटनाक्रमले त्यो सपना पूरा हुन नसके पनि भएको चितवनलाई गुमाउन चितवनवासी तयार छैनन्, बरु एकपटक फेरि आन्दोलनमा होमिन तयार छौं ।’
साथै उनले प्रदेश विभाजनमा नदी र जंगललाई सिमाना बनाउन नहुने प्रस्तावसमेत अघि सारे । हामीले चितवनलाई केन्द्र शासित स्वायत्त प्रदेश बनाउन चाहेका थियौं, त्यो पूरा भएन । ‘उपप्रदेश बनाउन खोजेका थियौं त्यो पनि पूरा भएन वृहत गुरूयोजना भित्रका भागलाई समेटेर एउटै प्रदेश बनाउ पनि भन्यौ त्यो पनि पुरा भएन, तर आज भएको चितवन पनि खल्बल्याउने गरी जुन कुरा संसदमा उठेको छ, त्यो खेदजनक छ’,उनले भने ।
चितवनलाई आर्थिक राजधानीको रुपमा विकास गरिनुपर्ने उनले बताए । देशको केन्द्र भाग भएकाले सबैको आँखा लागे पनि दीर्घकालका लागि चितवनलाई एक बनाइ विकासका पूर्वाधार तयार पारिनुपर्ने संयोजक सुवेदीले सुझाव दिए ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवन जिल्ला टुक्रा पार्ने अभिव्यक्ति आफूहरुका लागि सह्य नहुने बताए । उनले भने, ‘चितवन टुक्र्याउन दिन्नौ, यदि त्यसो भएमा जनता सडकमा उत्रन्छन् ।’
तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावनाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मधेस समाजवादीका धर्मेन्द्रकुमार साह तेली, सद्भावनाका डिम्पलकुमारी झा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरीसहितले दर्ता गरेको संशोधनमा चितवन पनि टुक्र्याउन प्रस्ताव गरिएको हो । नवलपरासीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका तराईका जिल्ला समेट्ने गरी प्रदेश बन्नुपर्ने प्रस्ताव उक्त संशोधनमा छ ।







प्रतिक्रिया