मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा ह्वात्तै बढेको जग्गाको कारोबार ओरालो लाग्दै

चितवनमा ह्वात्तै बढेको जग्गाको कारोबार ओरालो लाग्दै


चितवनमा केही वर्षदेखि  चरम् रुपमा मौलाएको जग्गा खरिद बिक्रीको कारोबार ओरालो लागेको छ ।  जिल्लामा ह्वात्तै बढेको जग्गा प्लटिङ र बैना कारोबार अन्ततः बैंकिङ क्षेत्रको ‘क्रेडिट क्रन्च’ सँगै ठप्प बनेको हो । बैंकले जग्गा कारोबारमा ऋण लगानी नगर्ने नीति अख्तियार गरेसँगै जग्गा कारोबार ओरालो लागेको हो । जग्गाको कारोबार ठप्प भएपछि बैंकबाट ओभरड्राफ्ट लिएर प्लटिङ गर्नेहरुलाई टाउको दुखाइ बनेको छ । 
 
जिल्ला मालपोत कार्यालयका कर्मचारीका अनुसार यसरी जग्गाको कारोबार घट्नुमा बैंकको लगानीमात्रै कारण होइन, यसका अन्य विविध कारण पनि रहेका छन् । आफूहरुसँग पछिल्लो महिनाको जग्गा कारोबारको यकिन तथ्याङ्क तयार भइनसके पनि कारोबार भने निकै घटेको मालपोत कार्यालय भरतपुरका मालपोत अधिकृत खेमनारायण पौडेलले बताए ।
 
मालपोत कार्यालयको सेवा भरतपुरसहित चैनपुर, माडी र खैरहनीमा समेत विस्तार भएको छ । त्यसकारण तथ्याङ्क संकलनमा गाह्रो भएको उनले बताए । 
 
कार्यालयको सेवा विस्तार, लामो समयसम्म स्थानीय निकायका सचिवहरुको हड्ताल र बैंकको ऋण लगानी नहुनुजस्ता कारणले नै यहाँको जग्गा कारोबार ओरालो लागेको कर्मचारीहरु बताउँछन् ।
 
‘ठूला जग्गाको किनबेच हुन सकेको छैन, जग्गा खरिद बिक्रीका अग्रणी व्यवसायी दिनेशकुमार चुकेले भने, ‘सानातिना जग्गाहरुको हकमा भने किनेबेचमा कुनै असर देखिएको छैन ।’ 
 
बैंकको ऋण लगानीको असरले जग्गा कारोबारमा निकै कमी आएको व्यवसायी चुकेले स्वीकार गरे ।
 
बैंकको ऋण लगानी नहुँदा जग्गा व्यवसायमा कमी आएको नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले बताउँछन् । उनी भन्छन्,  ‘बैनामात्र लेनदेन गरेर कारोबार गर्नेलाई भने साँच्चै समस्या बनाएको छ ।’ 
 
कारोबार घटे पनि जग्गाको मूल्यमा गिरावट नआएको अध्यक्ष अधिकारीले बताए । राष्ट्र बैंकले ऋण लगानी नीतिमा परिवर्तन ल्याएलगत्तै पुनः जग्गाको कारोबार बढ्ने उनले बताए ।
 
भरतपुरमा रहेका घरजग्गा बिक्री केन्द्र भनेर खोलिएका कतिपय कार्यालयहरु सुनसानजस्तै छन् । चितवनमा एउटै जग्गा ६ पटकसम्म किनबेच भएको थियो । बैंकले कडाइ गरेसँगै पहिलो मार तिनै व्यवसायीलाई परेको छ, जसले बैनामा कारोबार गर्दै आएका थिए । कतिपय व्यवसायी भने बैंक ऋण तिर्न जग्गाको मूल्य घटाएरसमेत बेच्न दौडिएका छन् । 
 
पुसदेखि नै ओरालो लागेको जग्गा कारोबार माघमा सुस्त भइसकेको थियो । फागुनको पहिलो सातासम्म ठप्प प्राय: छ । 
 
केरा खेती, माछापोखरी, कुखुरापालनलाई जग्गा भाडामा लगाएका जग्गाधनीले समेत अहिले धमाधम प्लटिङ व्यवसायीलाई जग्गा बेच्न थालेका छन् । 
 
खेतीयोग्य जग्गासमेत प्लटिङ गरेर बिक्री गर्न थालेपछि सरकारले कडाइ गर्न लागेको छ । चितवनमा जग्गा कारोबारको क्रम यही अवश्थामा रहने हो भने खेतीयोग्य जमिन लोप हुने हो कि भन्ने चिन्ता बढेको थियो ।