काठमाडौँ । लामो समयको रस्साकस्सीपछि अन्ततः सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ ।
असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर स्थानीय निकायको निर्वाचन घोषणासँगै संविधान संशोधन प्रक्रियालाई अघि बढाउने योजनामा रहेको सरकारले सम्बन्धित पक्षसँग चरणबद्ध छलफल गरिरहेको छ ।
दुवै पक्षका अडानका बीच मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।
निर्वाचनको मिति र समसामयिक विषयमा छलफल गर्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ प्रमुख दलको बैठकले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्दै निर्वाचनको दिशातर्फ अघि बढ्ने अठोट गरेका छन् ।
निर्वाचन र संविधान संशोधनबारे शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएका प्रधानमन्त्रीले आइतबार सत्ता साझेदार काँग्रेससँग छलफल गरी छिट्टै निर्वाचनको मिति घोषणाको तयारी गरेको बुझिएको छ ।
मुलुकको परिस्थिति ध्यानमा राखी निर्वाचनको मिति छिट्टै घोषणा गरेर पछि संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचन गर्ने सत्तारुढ दलबीच सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
‘सत्तारुढ गठबन्धनका प्रमुख राजनीतिक दलले पहिलादेखि नै आफ्नो दृष्टिकोण प्रस्ट पारेकै थिए कि संविधान संशोधनको प्रक्रिया टुङ्ग्याएपछि निर्वाचन गर्ने, त्यसमा त हामी कायमै छौँ अहिले पनि, तर अहिले मिल्ने स्थिति रहेन, त्यसलै निर्वाचनको मिति छिट्टै घोषणा गर्नेमा सत्तारुढको स्पष्ट दृष्टिकोण बनेको छ, छिट्टै हुन्छ, दिन र घन्टा भन्न म सक्दिन’– उनले भने ।
नेता श्रेष्ठले मोर्चाका नेतासँग छलफलमै रहेकाले संशोधन प्रक्रिया टुङ्गो लगाएर निर्वाचनमा जाने भनिएकाले मोर्चा आन्दोलनमा नजाने अपेक्ष व्यक्त गरे ।
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले निर्वाचन क्षेत्र निर्धारण आयोगसँग आवश्यक परामर्श गरी छिट्टै निर्वाचन गराउन सत्तारुढ दलबीच सहमति भएको बताए । उनले भने– ‘पहाडमा भूगोलअनुसार र तराईमा जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्ने कुरा भएको छ, आयोगका पदाधिकारीसँग परामर्श गरी मिति घोषणा हुन्छ ।’
बैठकमा प्रधानमन्त्रीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायत नेताको सहभागिता थियो । रासस







प्रतिक्रिया