रुपन्देही । रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र आइतबार तनावग्रस्त बनेको छ । स्थानीयहरुले प्रहरी चौकी बडवलियामा ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले बताएको छ ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
झडपको क्रममा प्रहरीको साथमा रहेको एक थान हतियारसमेत लुटिएको उनले जानकारी दिए । उनले भने– ‘झडपका क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन लुटिएको छ । त्यसको खोजी कार्य भइरहेको छ ।’
शनिबार मर्चवार क्षेत्रको मझगावामा मधेस क्षेत्र टुक्र्याउनुपर्छ भन्ने अभियानकारी सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । उक्त घटनामा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्डमा थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ । झडपमा तीनजना प्रहरी पनि घाइते भएका छन् । स्थानीयका अनुसार असुरैना–७ का कतारु नाम गरेका व्यक्तिसमेत घाइते भएका छन् ।
स्थानीयका अनुसार सो क्षेत्र अझै पनि नियन्त्रणमा आइसकेको छैन । प्रहरीले हतियार लुटेराको सर्च अपरेशनलाई तीव्र बनाएको छ । स्थानीयबासी त्रसित छन् । (फाइल फोटो)
प्रतिक्रिया