महोत्तरी । आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन् ।
पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा रु दुई करोड विभिन्न माध्यमबाट सङ्कलन भइसकेको अध्यक्ष धुर्मुसले बताए । बाँकी रहेको अपुग रकम सहयोगका लागि उनले हरेकसँग सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।
जसरी भए पनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई एक लाख सहयोग
महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हीरा गौतमले एक लाख रकम प्रदान गरेका छन् ।
होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भने– “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।”
बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्रनिर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भने– “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदै छौँ ।”
गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरू भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताए ।
चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताए ।
हालसम्म झन्डै दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ ।
प्रतिक्रिया