काठमाडौं,माघ २८
दुई दशकदेखि कविता लेखनमा सक्रिय कवि सुनारको पहिलो कविता संग्रहका रुपमा युगको आवाज शुक्रबारदेखि पाठकका माझ आएको छ । संग्रहको शुक्रबार पुराना कवि तथा संस्कृतीविद तुलसी दिवसले बिमोचन गरे ।
कविले एक किसिमले बिद्रोह र सामाजिक असन्तुष्टी कविताबाट पोखेको प्रमुख अतिथी दिवसले उल्लेख गरे । ‘परिवार,समाजमा जो देखिएको ,सुनिएको छ त्यसका विरुद्धमा आवाज उठाउने एक कवि सुनार बनेकी छिन्,’ दिवसले भने ,‘चित्त नबुझेका कुरा ठाउँ ठाउँमा सिधै भनिदिएकी छिन् ।’ उनका अनुसार कविले रसभरेर ,घुमाउरो पारेरमात्र कवितामा भन्नुभन्दा सिधै भन्दा त्यसले पनि कविताको नयाँ धारको उत्पती हुनेगर्छ । तर त्यसमा आफ्नो चिन्तन ,अनुभुतीसँगै इमान्दारचाहिं हुनुपर्ने उनले बताए । कविताले साहित्यमात्र नबोल्ने भन्दै उनले साहित्य पर्यटनको नयाँ आयाम सृजना गरिरहेकाले सक्रियहरु निरन्तर लागेर त्यो बाटो वृहत बनाउनुपर्नेमा जोड दिए । ‘कविता क्यान्सर रोग निको पार्ने औषधी बन्न थालेको छ ,’अचेल दिवसले थपे ,‘अभौतिक संस्कृतीको रुपमा उदाउँदैछ ।’
पवित्राका कविता पनि कसैको उकुसमुकुस बाहिर ल्याउन र उसको हृदयको पीडा हटाउन सहयोगी हुने अपेक्षा उनले गरे । कविता संग्रहको टिप्पणी गर्दै समालोचक तथा कवि राजेन्द्र पराजुलीले विकृत राजनीति,विसंगति र समाजभित्र लड्ने कविताहरु संग्रहमा अटाएको जनाए । ‘यो युग मान्छेको युग हो,’ उनले भने ,‘मान्छेले मान्छेलाई गर्ने शोषणका रुप फेरिए तर सार फेरिएनन् त्यसैको विद्रोह कविले गरेकी छिन् ।’
केही कलात्मक कमजोरी र सम्पादकिय कमजोरी रहेपनि कविता यो युग सापेक्ष रहेको दाबी पराजुलीले गरे । अर्का टिप्पणीकार डा.भगवानचन्द्र ज्ञवालीले जीवनलाई हेर्ने भिन्न दर्शन कविताभित्र रहेको बताए । ‘वस्तुवादी धार र जीवनका अनुभुतीलाई कवितामा व्यक्त गरिएको छ’, उनले प्रष्ट्याए । कवयित्री गीता त्रिपाठीले लैंगिक,जातिय र वगिाृय विभेद आजको युगको चेतनामा आउनुपर्ने विषयहरु कविताभरी छाएको औंल्याइन् । ‘जसमा जीवनप्रतिको प्रेम र सार्थकता झल्किएका छन् ’,उनले सुनाइन् । साहित्यकार जितेन्द्र रसिकले सामाजिक हिंसाबाट युगदेखि पिछडिएका वर्गहरु कविताका शब्दभरी छरिएको पाठकले भेटाउने खुलाउँछन् । ‘आम पाठकले खोज्ने कृतिको आधार नै उनीहरुको भावना कविताले भन्छ वा भन्दैन भन्ने कुरालाई कविले अन्यौलता कविले मेट्न सफल भएकी छिन्,’रसिक खुट्याउँछन् ।
साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले आफै महिला र दलित समुदायको प्रतिनिधित्व गर्ने हुनाले पनि उनीहरुका आवाज कवितामा निरन्तर ल्याउन कविलाई आग्रह गरे । ‘कविताले भावनामात्रै बोल्ने हैन बोल्न नसकेको आवाज बाहिर ल्याएर राजनीति पनि गर्ने हो,’ उनले सुझाए ।
यसअघि नै विभिन्न पत्रपत्रिकामा आफ्ना रचना प्रकाशन गर्दै आएकी कवि सुनार कविता लेखेरै पुरस्कृत भैसकेकी छिन् । उनको कविता संग्रह युगको आवाजमा ६४ वटा कविता समावेश छन् । पुस्तकको पाठक मूल्य १सय ५० रुपैयाँ रहेको छ ।
झरी परेको साँझ
.jpg)
झरी परेको यो साँझ
यो घोप्टे भीर झैं कहाली लाग्दो
अनौठो जीवनको यात्रा कसरी हिडें ?
कति गल्छेडाहरु थिए छिचोलीनसक्नु
कति चिप्लेटीहरु थिए हिंडिनसक्नु
यो जीवनरुपी घोप्टेभीरको यात्राको कहानी ।
यतिखेर मात्र चुपचाप हेरिरहेछु ।।
मुटुमा घोंचिरहने सियो बोकेर
कसरी बाँचिरहें यतिका बर्ष ?
पहिरोले बगाएर छोडेको बस्ती झैै
उजाडिएर आफ्नेै परिवशसित
कसरी हाँसिरहे यो सभ्यताको नाम अघि ?
यो रुखो व्यवस्थाको स्वास्नी मान्छे बनेर
यो प्रतिगामी बाटो हिंड्न मलाई
कसले विवश तुल्यायो ?
देखेरै अन्यायका अग्ला पर्खालहरुलाई
चुपचाप आँखा चिम्लिन कसले सिकायो ?
मेरी आमाले झैं शान्त–शालिन बन्दै
यहाँ स्वास्नी मान्छे भएरै जिउन
हो सोंचिरहेछु यो स्वास्नीको अस्तित्व
कसरी हिंडिरहे जीवनको उल्टो यात्रा ?
जहाँ मान्छे हुनुको रंग थिएन ।
जहाँ मान्छेको मूल्यबोध थिएन ।।
यतिखेर मलाई अफसोच लागिरहेछ
मानव सभ्यताको पाठ सिकाउनेहरुसंग
बिकासको नाममा पूँजीको होड चलाएर
म जस्तै मान्छेको हत्या गर्नेहरुसंग
बा ! म पनि दाईा जस्तै जन्मिंद
एक हिस्सा जमिनको मालिक भईदिएको भए
यतिका बर्ष दुई छाकको दास हुने थिइन
यो खोक्रो सभ्यताभित्र जिउने थिइन ।।
हो मलाई यतिखेर तिम्रो सभ्य समाजको
यो बिभेदकारी घर भत्काउन मन छ
जसले मलाई बर्षौंबर्ष दास बनायो
जसले मेरो जीवन विवश बनायो ।।
प्रतिक्रिया