मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको तीव्र अनुसन्धान : चोर खोज्न भारतसम्म

प्रहरीको तीव्र अनुसन्धान : चोर खोज्न भारतसम्म


चितवन । चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले नारायणगढको एक सुन पसलबाट भएको चोरी घटनाबारे तीव्र अनुसन्धान भइरहेको बताएका छन् । प्रविधिको व्यापक प्रयोग गरी चोरको खोजी भइरहेको उनले बताए ।
 
तीनवटा टोली चोरको खोजीका लागि भारतसम्म पुगेको भन्दै प्रउ थापाले चोरीमा संलग्नबारे नियमित अनुसन्धान भइरहेको बताए । नेपालभित्रै मुख्य सहर र शंकास्पद अन्य स्थानमा खोजी भइरहेको उनले जानकारी दिए ।
 
नारायणगढ बजारमा प्रयोगमा रहेका सिसिटिभी फुटेज, चोरी भएको समयमा त्यस स्थानमा प्रयोगमा आएका मोबाइल नम्बरको बीटीएस खोजीलगायतको काम भइरहेको उनले बताए ।
 
चोरको खोजीमा केन्द्रीय अनुसन्धान व्यूरोको पनि सहयोग लिइएको उनले बताए । ‘हामी नियमित खोजीमा छौँ, छिट्टै सफलता हात लाग्छ’, एसपी थापाले भने । चोरको संलग्नताबारे केही खुलिसकेको भए पनि पक्राउ नपरुञ्जेल जानकारी दिन गाह्रो हुने उनको भनाइ छ ।
 
सकेसम्म चोरिएको धनमालसहित सफलता हात पार्ने आफूहरुको योजना रहेको उनले बताए । नारायणगढ मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलबाट गतहप्ता बिहीबार राति झण्डै ३ केजी सुन, साढे १० केजी चाँदी र नगद साढे सात लाख रुपैयाँ चोरी भएको थियो ।
 
चोरी घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दीपक श्रेष्ठको संयोजकत्वमा टोली खटिएको छ । टोलीले पसलभित्रको अवस्था, बजार क्षेत्रका सीसी क्यामरा फुटेज अध्ययन तथा सोधपुछ गर्ने कार्यलाई तीव्र बनाएको छ ।
 
चोरले पसलमा रहेको सीसी क्यामेरा रेकर्ड बक्स र चोरीपछि बाहिरबाटै ताला लगाइदिएपछि घटना रहस्यमय बनेको हो ।
 
वर्तमान बजार भाउअनुसार ४ किलो सुनको मूल्य करिब २ करोड रुपैयाँ पर्छ । त्यस्तै चाँदीको मूल्य कम्तीमा ७ लाख रुपैयाँ पर्छ । प्रहरीले पनि यो चोरीलाई ‘रहस्यमय’ भनेको छ भने स्थानीय व्यवसायी तथा टोलबासीले पनि अनौठो चोरी भनेको छ ।