मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचनबारे दलीय परामर्श : बुधबारसम्म सहमति खोज्ने

निर्वाचनबारे दलीय परामर्श : बुधबारसम्म सहमति खोज्ने


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा सोमबार सत्तारुढ नेपाली काँग्रेस र मधेसी मोर्चासँग परामर्श गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा उल्लेखित दुवै विषयमा सहमति खोज्ने प्रयास भए पनि कुनै निष्कर्ष निस्किएन । यद्यपि, अबको एक÷दुई दिनभित्रै पुनः बैठक बसी सहमति खोज्ने दुवैतर्फका नेताहरुले प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग मंगलबार छलफल गरी अर्को निर्णायक बैठक गर्ने बताइएको छ ।
 
मंगलबारको बैठकमा दुवै पक्षको अडानले सहमति जुटेन । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयलाई एकैसाथ लैजाने प्रस्ताव राखेका थिए । तर मोर्चाले संशोधन टुङ्गो नलगाई कुनै पनि निर्वाचन अघि बढ्न नसक्ने बताएपछि त्यस विषयमा दलीय सहमति जुटाउन अर्को बैठक गर्ने सहमति भएको हो ।
 
संशोधन र निर्वाचनबारे बुधबारसम्म दलीय परामर्श गरी टुङ्गो लगाउने सहमति भएको नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
 
‘बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र निर्वाचनबारे छलफललाई केन्द्रित गरे । संशोधनको प्रक्रिया पनि अघि बढाउने तर निर्वाचनको दिशामा पनि देशलाई लैजानुपर्ने आवश्यकतामा जोड दिए । मोर्चाले संशोधन प्रक्रियालाई टुङ्ग्याएरमात्रै निर्वाचनमा लाग्नुपर्ने धारणा राखेपछि यो विषयमा तत्कालै छलफल गरी ठोस निष्कर्ष निकाल्न सोमबारको बैठकको निरन्तरतामा अर्को बैठक बस्ने सहमति भएको छ,’–उनले भने ।
 
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संशोधन विधेयक र निर्वाचनबारे वृहत र सकारात्मक छलफल भए पनि विषयवस्तुको टुङ्गो नलागेकाले अर्को बैठक बसी सहमति गर्ने निर्णय भएको बताए ।
 
बैठकमा मोर्चाको तर्फबाट निर्वाचनको मिति अहिले घोषणा गर्ने कि नगर्ने तथा स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने या नगर्नेबारे छलफल भएको छ । उक्त विषयमा प्रधानमन्त्रीले गम्भीर रुपमा छलफल गरी आवश्यक निर्णय लिने धारणा राखेको नेता कर्णले बताए ।
 
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले निर्वाचन र संशोधनबारे एमालेसँग पनि छलफल गरी सहमति खोज्ने विषयमा कुराकानी भएको बताए । 
 
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति थियो । रासस