चितवन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक संकटबाट बचाउन तत्काल चुनाव घोषणा हुनुपर्ने बताएका छन् ।
वर्तमान सरकारले चुनाव घोषणा गर्न आलटाल गरिरहेको भन्दै अध्यक्ष ओलीले भने, ‘देश बचाउनु छ भने चुनाव तत्काल हुनुपर्छ ।’ एमालेको जोड देशमा संवैधानिक र राजनीति संकट नआओस् भन्ने रहेको उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको २० औँ राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले तीनै तहको चुनाव गर्नु नै राजनीतिक समस्या समाधानको मुख्य पाटो भएको बताए । उनले भने, ‘सरकार तमासा देखाइ राख्ने अनि निर्वाचन टार्ने काम हुन लाग्यो भने एमाले चुप बस्दैन ।’
राजनीतिक तथा संवैधानिक संकट अन्त्यको पक्षमा एमाले रहेको उनले बताए । एमाले अध्यक्ष केपी ओलीले निर्वाचन नगराएर कुनै हिसाबले सरकार चलाइराख्ने र आयु लम्याइ रहनेजस्ता काम भयो भने देश र सरकारकै लागि दुर्भाग्य हुने बताएका छन् ।
२०७४ माघ ७ भित्र तीनवटै निर्वाचन गराउने तालिका बनाइएको थियो । त्यो अवधिमा निर्वाचन भइसक्नु पर्छ । उनले देशमा गम्भीर समस्या पैदा हुने र निर्वाचन समयभित्र हुनपर्छ भन्ने एमाले त्यसको पक्षमा रहेको बताए । ‘एमालेले सरकारको विकल्प खोजको हो कि’ भन्ने पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष ओलीले एमाले सरकारमा जानेभन्दा पनि चुनाव र संवैधानिक संकटबाट देशलाई जोगाउने र चुनाव गराउने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले सविधान संशोधन अनावश्यक, अनुचित र हानिकारक रहेको बताए । ’
समय चुनावको भए पनि सरकारले संविधान संशोधनको विषयलाई अघि सारेर भूल गरेको र उक्त संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नगर्न नगराउन आफ्नो पार्टी एमाले अन्तिम समयसम्म पनि लागिपर्ने उनले बताए । अहिलेको सरकार निर्वाचन नगराउने उद्देश्यका साथ अघि बढेको आरोप लगाउँदै उनले त्यस्ता गलत कामलाई नेपाली जनताले जवाफ दिने बताए ।
संविधान नमान्नेहरुले देशलाई सधै समस्यामा पारेको उनको भनाइ थियो । ‘हिजो पनि समस्या थियो, आज पनि छ, हेरिराख्नुस् भोलि पनि समस्या निकालिनेछन्, समस्या सधैँ भइरहने छ,’ एमाले अध्यक्ष ओलीले भने ।
आफ्नो नेतृत्वको सरकारले सबै देशसँग समभाव र समदूरी कायम गरी अघि बढेको अवस्थामा केही व्यक्तिको पदको लोभले आफ्नो नेतृत्व हटाइएको उनले बताए । साथै उनले सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक स्वाधीनतालाई खतरामा राखेर काम गर्न नहुने बताए ।
शिक्षक संगठनको बैठक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शैक्षिक चेतनाले मात्रै देशको विकास हुने बताए । शिक्षामा विकास नएकाले नेपालको पनि विकास नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया