पर्वत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाएका छन् ।
पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयको आइतबार आयोजित रजतजयन्ती समारोहमा उनले भने ‘एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।’
उपप्रधानमन्त्री निधिले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दूरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको धारणा व्यक्त गरे ।
‘संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो,’ उनले भने । निर्वाचन गराउनका लागि भए पनि संविधान संशोेधनमा सघाउन एमालेलाई आग्रह गरे ।
नेपाली काँग्रेसका नेतासमेत रहेका उपप्रधानमन्त्री निधिले संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्ष्भित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ, उनले भने– निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसदमा पेस गरिएको र केही दिन भित्रैमा त्यसले मूर्तरुप पाउनेछन् ।
उपप्रधानमन्त्री निधीले सबै तयारी सकेर सरकारले वैशाख वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताए ।
तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उनले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकार बाहिर रहेका बेला सत्ताधारीे पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको धारणा व्यक्त गरे ।
उपप्रधानमन्त्री निधीले एमालेले अनावश्यक रुपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने बताए ।
यसअघि उनले धौलागिरीका एकमात्र सहिद गोविन्दनाथ शर्माको सालिकमा माल्र्यापण गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री निधिले मुलुकका निम्ति बलिदानी दिने सहिदलाई सधैँ राज्यले सम्मान गर्ने बताए । रासस
प्रतिक्रिया