मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महावाणिज्य दूतावासले एम्बुलेन्स र स्कुल बस दिने

महावाणिज्य दूतावासले एम्बुलेन्स र स्कुल बस दिने


वीरगन्ज । नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले विभिन्न  नेपाली स्वास्थ्य तथा शैक्षिक संस्थालाई दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस निःशुल्क सहयोग दिने घोषणा गरेको छ । 
 
भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा यही माघ १३ गते वीरगन्जमा आयोजना हुने एक कार्यक्रमबीच एम्बुलेन्स र स्कुल बस वितरण गर्ने महावाणिज्य दूतावासले घोषणा गरेको हो ।
 
महावाणिज्य दूतावासले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै महावाणिज्यदूत वैष्णोचरण प्रधान (बिसी प्रधान) ले २६ जनवरीका अवसरमा आयोजना हुने कार्यक्रममा एम्बुलेन्स र स्कुल बसको कागजात तथा साँचो वितरण गर्ने जानकारी दिए । 
 
उनले प्रत्येक वर्ष झँै यस वर्ष पनि जानकी मेडिकल कलेज, जनकपुर र नेपाल रेडक्रस सोसाइटी, पथरैया, सर्लाहीलाई एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरिने बताए । त्यस्तै, श्री झमकेश्वरी सेकेन्डरी स्कुल, पालुङ,  मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस, धनुषालाई स्कुल बस वितरण गर्ने निर्णय गरेको महावाणिज्यदूत प्रधानले जानकारी दिए । 
 
महावाणिज्यदूत प्रधानले नेपालको उद्योग व्यवसायलाई फस्टाउनमा मद्दत गर्न भारत सधैँ प्रयासरत रहेको बताए । उनले नेपाल सरकारको पहलमा भारत सरकारले बारा–पर्सा औद्योगिक कोरिडोरलाई विद्युत्भार कटौतीमुक्त गर्न रक्सौल–परवानीपुर ५० मेगावाट प्रसारणलाईन तयार पारिरहेकोे जानकारी दिए । रक्सौलबाट आयात गरिएको ५० मेगावाट विद्युत्ले बारा–पर्सा औद्योगिक कोरिडोर विद्युत्भार कटौतीमुक्त भएपछि यस भेगको उद्योग व्यापार फस्टाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
 
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानले नेपालमा लगानी भित्र्याउन वाणिज्य दूतावासले भारतीय उद्योगपतिमाझ पहल गरेको र यसको सकारात्मक प्रभाव चाँडै देखिने दाबी गरे । उनले तराईको विकास र तराईवासीको जीवनस्तरलाई उकास्न भारत सरकारले स्वास्थ्य, शिक्षा, सडक तथा पूर्वाधार विकासमा आर्थिक सहयोग गर्दै आएको बताए । रासस