मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्वास्नी मार्न नसकेपछि प्रहरीमा आत्मसमर्पण

स्वास्नी मार्न नसकेपछि प्रहरीमा आत्मसमर्पण


धादिङ । घरमा श्रीमती र बालबच्चा हुँदाहुंँदै अन्तरजातीय विवाह गरेर दोस्रो पत्नी भित्र्याएका धादिङ नलाङका एक युवक आफैँले मन पराएर बिहे गरेको श्रीमतीलाई मार्ने प्रयास गरेका छन् ।  
 
बिहीबार दिउँसोे श्रीमतीको हत्या गर्न नसकेको भन्दै धादिङ नलाङका रामकुमार परियारले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । उनी हतियारसहित नलाङको बैरेनीस्थित प्रहरीचौकी पुगेका थिए । चौकी पुगेर उनले भने, ‘स्वास्नी मार्न खोजेको सकिनँ, घाइते पारेर आत्मसमर्पण गर्न आएँ ।’
 
रामकुमारकी दोस्रो पत्नी सीता गुरुङले लामो समयदेखि आफ्नै श्रीमान्बाट घरेलुहिंसा सहन परेको बताइन् । श्रीमान् र घरपरिवारबाट पटक–पटक आक्रमण हुन थालेपछि उनी पछिल्लो समय सहयात्री समाज नेपालको संरक्षण गृहमा छोरासहित बस्दै आएकी थिइन् ।
 
उनी पतिसँग बस्न सक्ने अवस्था नबनेपछि सम्बन्धविच्छेदको तयारीमा थिइन् र बिहीबार दिउँसो नलाङ गाविस कार्यालय जानेक्रममा बाटोमै पति भेटिएपछि आक्रमणमा परेकी हुन् । उनलाई उद्धार गरेर काठमाडौँ पठाएको संस्था सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटाले भनिन्, ‘हामीले लामो समयदेखि उनी र उनका छोरालाई सेफ हाउसमा राख्दै आएका थियौँ र बिहीबार पतिसँग भेटेर सम्बन्धविच्छेदबारे छलफल गर्न जानेक्रममा बाटोमै पतिले हत्या प्रयास गरेछन् ।’
 
सीता गाविस कार्यालय जानेक्रममा गाउँमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न आएका पति रामकुमारले देख्नेवित्तिकै हँसियाले प्रहार गरेका हुन् । उनले पत्नी हत्याको प्रयास गरे पनि असफल भएपछि प्रहरीमा आत्मसमर्पण गरेको स्वीकार गरेका छन् ।  
 
मरणासन्न सीताको वीर अस्पतालमा उपचार हुँदैछ भने रामकुमार प्रहरी हिरासतमा छन् । उनीहरुको पाँच वर्षीय छोरा संस्थाको संरक्षणमा रहेका छन् । सेनाको जागिर छाडेर बसेका रामकुमारको पहिलो पत्नी दुई सन्तानसहित माइतमै छिन् । दुई वर्षअघि पतिले झुक्याएर विवाह गरेसँगै कुटपिट गर्न थालेपछि सीता संस्थाको संरक्षण गृहमा छोरासहित बस्दै आएकी थिइन् ।