मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु

वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु


चितवन । चितवन निकुञ्जका दुर्लभ वन्यजन्तुको आक्रमणबाट ६ महिनायता ६ जनाको मृत्यु भएको छ । 
 
चितवन निकुञ्जको आडमा रहेको गाउँ माडी नगरपालिका वडा नं ११ खरकट्टाका १३ वर्षीय सागर सुनारको जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भयो । शुक्रबार बिहान सबेरै दुई बजे पिसाब गर्न घरबाहिर निस्केका सुनार हात्तीको आक्रमणमा परेका थिए ।
 
जंगली हात्तीले चितवनमा मान्छे मारेको एक हप्ताभित्र यो दोस्रो घटना हो । पुस २६ गते मंगलबार सौराहास्थित खोरसोरको हात्ती प्रजनन् केन्द्र घुम्न गएका एकजना भारतीय पर्यटकको निधन पनि जंगली हात्तीको आक्रमणमा परेर भएको थियो ।
 
त्यसो त जंगली जनावरको आक्रमणमा परेर माडीमै तीन महिनाका बीचमा भएको हात्ती आक्रमणको घटना दोस्रो हो । गएको असोज ९ गते गर्दीमा गैँडाले आक्रमण गर्दा एकजनाको ज्यान गएको थियो । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार यो आर्थिक वर्षको छ महिनामा जंगली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ ।
 
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार यो आर्थिक वर्ष सुरू भएयता गैंडाबाट तीनजना, जंगली हात्तीबाट दुईजना र बाघबाट एकजनाको निधन भएको छ । बाघले चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रबाहिर नवलपरासीमा थप दुईजनाको पनि ज्यान लिएको छ । जसको रेकर्ड निकुञ्ज कार्यालयमा रहने गर्दैन ।
 
गैँडाले माडीको पाँच पाण्डव मध्यवर्ती क्षेत्रमा असोज ९ गते एकजना, नवलपरासीको लामीचौर मध्यवर्ती क्षेत्रमा कात्तिक १२ गते एकजना र सौराहामा पनि एकजनाको ज्यान लिएको थियो । हात्तीले पनि सौराहा र माडी क्षेत्रमै ज्यान लिएको छ । त्यस्तै बाघले कात्तिक १० गते नवलपरासीको दाउन्नेदेवी मध्यवर्ती उपभोक्त क्षेत्रअन्तर्गतको गाउँमा एकजनाको ज्यान लिएको थियो ।
 
अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट दुईजना, गैँडाको आक्रमणबाट दुईजना र जंगली हात्तीको आक्रमणबाट एकजनाको गरी पूरा एक वर्षमा जम्मा पाँचजनाको मात्रै निधन भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको छ महिनामा नै गत एक वर्षको भन्दा एकजना बढीको ज्यान गएको घटनाले वन्यजन्तु आक्रमण बढेको देखिन्छ ।
 
त्यसो त गत वर्ष पछिल्लो सात वर्षमा वन्यजन्तुबाट सबैभन्दा कमको ज्यान गएको थियो । आर्थिक वर्ष ०६६/६७ यता बढीमा वर्षमा १५ जनासम्मको वन्यजन्तुको आक्रमणका कारण ज्यान गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको विवरणमा उल्लेख छ । आर्थिक वर्ष ०६९र७० मा वन्यजन्तुले आक्रमण गर्दा १५ जनाको ज्यान गएको थियो ।
 
त्यसपछि वर्षमा १० र नौ हुँदै गत वर्षमा पाँचमा सीमित भएको थियो । चितवन निकुञ्जमा सबै खालका वन्यजन्तुको संख्या बढ्दै गएको अवस्था छ । निकुञ्जका जंगली जनावर मानवबस्तीमा आउनेक्रम पनि बढेको छ । जसका कारण आक्रमणका घटनाहरु बढेको निकुञ्जका अधिकारीहरुको अनुमान छ ।
 
निकुञ्जका जंगली जनावरहरुले मध्यवर्ती क्षेत्रमा आएर स्थानीयको ज्यान लिएमा मृतकका परिवारले पाँच लाख रुपैयाँ राहत रकम पाउने प्रवधान छ । त्यस्तै घाइते व्यक्तिले उपचार खर्च भनेर बढीमा पाँच लाख रुपैयाँसम्म पाउने व्यवस्था छ । यो आर्थिक वर्ष सुरू भएको छ महिनामा गैँडाले आक्रमण गर्दा पाँचजना, बँदेल र बाघको आक्रमणमा परेर एक एकजना घाइते भएको निकुञ्जले जनाएको छ ।
 
हात्ती नियन्त्रणको माग गर्दै यातायात बन्द
यसैबीच, माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले यातायात बन्द गरेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै यातायात बन्द गरेका हुन् ।
 
बन्दका कारण सवारी रोकिएको चल्न नसकेको प्रहरीले जनाएको छ । शुक्रबार चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर खरकट्टा चोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन् । 

शेयर गर्नुहोस:

0
Shares