मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकमानजस्तै आलोचित सरकार : अध्यक्ष ओली

लोकमानजस्तै आलोचित सरकार : अध्यक्ष ओली


दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् । 
 
नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नुपरेको उनको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।
 
झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच नाङ्गिँदै गएको उनको जिकिर थियो ।
 
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, ‘सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए । निर्वाचनबिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ भने ।
 
उनले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागेमात्र एमालेले सरकारलाई साथ दिने बताए । 
 
पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचारजस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनको भनाइ थियो । रासस