मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नौ वर्षपछि दामनमा हिउँ परेपछि रमाउनेहरुको भीड

नौ वर्षपछि दामनमा हिउँ परेपछि रमाउनेहरुको भीड


दामन (मकवानपुर) । भक्तपुरबाट दिना त्वाती लामा र जीवन लामाको जोडी  मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात् सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरु हिँडेका हुन् । 
 
राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा छ जना थिए । मंगलबार बिहान सूर्योदयका बेला सिमभञ्ज्याङमा उनीहरु हिउँमा रमाउँदै गरेका भेटिए । दिना र जीवनसँगै साथीहरु नेपालगन्जका अमृत मल्ल र काभ्रेका दिनेश लामा पनि रमाउँदै थिए । उनलाई सहयोग गर्दै थिए, स्थानीयवासी दिवस बस्नेतले । 
 
‘साह्रै रमाइलो भो !’ सेल्फी खिच्दै गरेका युगल जोडी दिना र जीवनले भने– ‘हिउँसँग खेल्दाको आनन्दै बेग्लै ।’ उनीहरुले दामनको भ्यूटावरबाट दृश्यावलोकन गरे । हिमालका आकर्षक चुचुराले मन लोभ्यायो । 
 
सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक दामन र सिमभञ्याङ क्षेत्रले जोकोही पर्यटकलाई लालायित पार्छ । विसं २०६४ पछि राम्ररी हिउँ नपरेको र गत वर्ष पनि अन्तिम फागुनतिर सामान्य हिउँ परेकाले यो वर्ष सुरूवातमै हिउँ पर्दा संकेत राम्रै मिलेको छ । 
 
मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने दामन सिमभञ्ज्याङ समुद्र सतहबाट दुई हजार ४८८ मिटरको उचाइमा पर्छ । गएको यही आइतबार यहाँ यो वर्ष पहिलोपटक हिउँ प¥यो । हल्ला देशभरि फैलिएपछि सोमबारदेखि दामनमा आन्तरिक पर्यटक भरिन थालेका छन् । 
 
हिउँ परेको थाहा पाएर सोमबार साँझ आकस्मिक निर्णय गर्दै फिल्म निर्माता सुशान्त श्रेष्ठ पनि दामन पुगे । मंगलबार बिहान हिउँमा रमाए र सेल्फी लिए । उनलाई साथ दिएका थिए, अर्का फिल्म निर्माता तथा फिल्मी पत्रकार रवि अधिकारीले । 
 
चितवनबाट दामनमा हिउँ खेल्न पुगेका अधिकारीले भने– ‘मेरो तीन–चार वर्षपछिको अवसर हो । पर्यटकलाई मोहक पार्ने ठाउँमा एकपटक पुग्नैपर्छ ।’ 
 
‘सिमभञ्ज्याङमा सिमलका भुवाझैँ झरेका हिउँका कण र सेताम्मे पाखापखेरा, घरहरुले मनमोहक नै पार्छ’, फिल्मकर्मी सुशान्त श्रेष्ठले भने– ‘फिल्मका दृश्य कैद गर्न पनि दामनले लोभ्याउने गरेको छ ।’ 
 
यसपालि त्यति बाक्लो हिउँ परिसकेको छैन, तर डाँडाभरि नै हिउँले ढाकेको छ । न्यू दामन थकाली भान्छाघरकी सञ्चालिका दुर्गा भण्डारी यहाँ भएका १०–१२ वटा होटल भरिभराउ भएको बताउँछिन् । 
 
हरेक चिसो मौसममा यहाँ हिउँ पर्ने भएकाले आन्तरिक पर्यटक दामन जान समय नै छुट्याएर बस्छन् । मकवानपुरको जिल्ला सदरमुकाम हेटौँडाबाट करिब ५२ किलोमिटर उत्तरमा यो क्षेत्र पर्छ । काठमाडौँबाट दक्षिणतर्फ झन्डै ७० किमी छ दामन । 
 
काठमाडौँ उपत्यकाबाट धेरै पर्यटक दामनमा हिउँ खेल्न आउँछन् । मकवानपुर, चितवनलगायत जिल्लाका आन्तरिक पर्यटकको ध्यानसमेत यसले खिचेको छ । हिउँ पर्ने मौसममा हिउँ खेल्न र गर्मी मौसममा शीतलता लिन पर्यटक आउने गरेको थाहा नगरपालिका–८ किटनीका स्थानीयवासी वृद्ध शालिग्राम केसीको भनाइ छ । 
 
दामन र सिमभञ्ज्याङमा मंगलबार बिहानको दृश्य मनमोहक थियो । अघिल्लो रातिदेखि नै यहाँका होटल भरिएका थिए । डाँडा, पाखा, पखेरा हिउँले ढकमक्क थिए । तरकारीको नर्सरीमा प्लास्टिकले ढाकेर सेताम्मे पारेकाजस्ता बारीका पाटा हिउँले भरिँदाको दृश्य बयान गर्नै नसकिने किसिमको थियो । रुखका बुट्यान, झारपात, पतिंगर, हिउँले ढाकेर सेताम्मे फूल खिलेझैँ देखिन्थे । 
 
पोखरीमा जमेको पानी, पानी माथिपट्टि फुटेर सिसाका तिखा टुक्रा झरेजस्तै पानी जमेको दृश्य, अनि पखेराभरि हिउँले भरिएको दृश्यावलोकनमा पर्यटक लोभिएका थिए । घर, करेसाबारीदेखि सवारीसाधनका सिसामा हिउँ भरिँदा साँच्चै नै मन्त्रमुग्ध पार्छ दामनले । 
 
समूह–समूहमा मात्रै हैन, प्रेमिल जोडीको मंगलबार बिहान यहाँ ठूलै भीड थियो । दिवस बस्नेत यहाँ युवाको आकर्षण भने बढ्दो रहेको बताउँछन् । 
यही मङ्सिरदेखि फागुनसम्म हिउँको मौसम हुन्छ, कुनबेला हिउँ पर्छ थाहै हुँदैन । सेता र राता रङका लालीगुराँस फुल्ने मौसममा समेत पर्यटकले मनोरञ्जन लिन्छन् । भ्यूटावरमा बसेर दृश्यावलोकन गर्नुको मज्जा नै बेग्ले हुने अनुभव छ पर्यटकको । 
 
सोही क्षेत्रमा रहेको करूणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा जैविक विविधताले समेत भरिपूर्ण भएकाले यस ठाउँले पर्यटकलाई तान्ने बताउँछन् । 
 
दामनबाट जति हिमशृंखला देखिन्छ, त्यति नेपालको कुनै ठाउँबाट पनि नदेखिने उनको भनाइ छ । सगरमाथालगायत आठ हजार मिटरमाथिका आठवटा हिमाल देखिने उनको दाबी छ । हिमशिखर होटलका सञ्चालक पाल्साङ भोम्जनको होटल मंगलबार आगन्तुकले भरिएको थियो । दामनदेखि हेटौँडा आउने १०–१५ किमी तलसम्म सडकछेउछाउ हिउँले ढाकेको थियो । 
 
यो वर्ष अलि छिटो हिउँ परेको उनको अनुभव छ । अघिल्लो वर्ष अलि पछाडि फागुनमा मात्रै त्यही पनि सामान्य हिउँ झरेको थियो । अहिले चाँडै नै परेको स्थानीयवासीले बताए । ‘चाँडै हिउँ परेको छ, दामनका लागि शुभसंकेत हो, पर्यटक आउने आशा पलायो’– पाल्साङले भने । विसं २०६४ मा झन्डै तीन फिटसम्म हिउँ परेको थियो । त्यसपछि दामन सिमभञ्ज्याङमा राम्ररी हिउँ परेको छैन । 
 
यो साल शुभसंकेत देखिएकाले आशा पलाएको छ, स्थानीय व्यवसायीमा । ‘पहिले–पहिले सडक विभागले बाटोमा हिउँ पगाल्न नुन छथ्र्यो, डोजर लगाएर हिउँ बढार्नुपथ्र्यो, अहिले हिउँ धेरै कम छ’– स्थानीयवासी शालिग्राम केसीले भने । मुख्य गरी क्रिसमस, अंग्रेजी र नेपाली नयाँ वर्ष, विभिन्न मेला तथा बिदाका दिनमा आन्तरिक पर्यटक दामन आउँछन् । यहाँ दुर्लभ प्रजातिको सुनगाभासमेत पाइन्छ । 
 
करूणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा यहाँ यति नै पर्यटक आउँछन् भनेर लेखाजोखा नभएको बताउँछन् । यहाँ अहिले एउटा कोठाको एक हजारदेखि दुई हजार २५ सयसम्मका छन् । खाना सादा १५० र मासुसहित २०० कम्तीमा पर्छ । तर, धेरैजसो होटल बाह्य पर्यटक लोभ्याउने खालका नभएकाले यसतर्फ पनि ध्यान दिनु जरूरी देखिन्छ । 
 
यस वर्ष दुई करोडको बजेट परेकाले पर्यटकीय पूर्वाधार निर्माण गरी व्यवस्थित पार्ने योजना रहेको अध्यक्ष लामाले बताए । दामनलाई जसरी विकास गर्नुपर्ने हो, त्यसरी विकास गर्न भने नसकिएको स्थानीयवासी बताउँछन् । 

शेयर गर्नुहोस:

0
Shares