मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सर अस्पतालमा बिरामी जाँच्न छाडेर तलब लिन आन्दोलन

क्यान्सर अस्पतालमा बिरामी जाँच्न छाडेर तलब लिन आन्दोलन


चितवन । बिरामी र कुरुवाहरु डाक्टरको कोठा अगाडि लाइन लागेका छन् । उभिँदा उभिँदा पट्यार लागेर केही भूइँमा बसिरहेका छन् । सबैजसो निकै निराश अुनहारमा देखिन्थे ।
 
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भित्रको दृश्य हो यो । अस्पतालका चिकित्सक र अन्य कर्मचारीहरु साउन महिनादेखि बढेको तलब र ग्रेड खान नपाएको भन्दै काम नै ठप्प पारेर बसेपछि सोमबार अस्पतालको सेवा प्रभावित बनेको छ । विरोधका कारण सबैभन्दा बढी अप्रेशन सेवाका बिरामीहरु प्रभावित बनेका थिए ।
 
पुस महिनाको १५ गते सम्म तलब खुवाउने भन्दै सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले भने पनि सो अनुसार नभएकाले काम छाडेर बस्नुपरेको डा अनिलविक्रम कार्कीले बताए ।
 
चिकित्सक र अन्य स्वास्थ्य प्राविधिक तथा प्रशासनिक कर्मचारीले काम ठप्प पारेपछि अध्यक्ष डा न्यौपाने सोमबार नै जहाजबाट चितवन आई कर्मचारीको गुनासो सुन्न अस्पताल पुगेका थिए ।
 
‘मैले सचिव र मन्त्री ज्यूलाई टिप्पणी उठाइसकेको छु, मन्त्रिपरिषद्को बैठक बसेलगत्तै कर्मचारीको तलब र अन्य सुविधाको समस्या हल हुन्छ, अध्यक्ष डा न्यौपानेले भने, ‘तलब खुवाउने काम बोर्ड बैठकबाट निर्णय गराउनुपर्ने हुन्छ तर अहिले बोर्ड सदस्य पूर्ण नहुनाले समस्या भएको हो ।’
 
अस्पतालको सेवा नै ठप्प पारेर विरोध हुन थालेपछि अध्यक्षले काममा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन् । अस्पताल सञ्चालनसम्बन्धी नियमावलीमा काममा बाधा गरेमा सम्बन्धित कर्मचारीलाई कारबाही हुने नियम रहे पनि अस्पतालले हालसम्म कसैलाई पनि उचित कारबाही गर्न सकेको छैन । जसले गर्दा कर्मचारीमा जिम्मेवारीभन्दा पनि मनपरीतन्त्र हावी भएको पाइन्छ ।
 
विरोधका स्वर सुनिनुमा विभागीय प्रमुखको (एचओडी) हेरफेरलाई पनि औचित्यपूर्ण रुपमा व्याख्या गरिएको छ । भर्खरै मात्र अस्पताल प्रशासनले लामो समयदेखि अस्पतालको विभिन्न विभागमा विभागीय प्रमुखको जिम्मेवारी लिँदै आएका प्रमुखलाई हटाएपछि विभागीय प्रमुखको पदबाट हट्नुको पीडालाई लिएर पनि पूर्वविभागीय प्रमुखहरु विरोध कार्यक्रमलाई साम्य पार्नु भन्दा पनि उल्टै उक्साउने काममा लागिरहेका छन् ।
 
कर्मचारी प्रशासन नियमावली–२०६६ मा तलबसम्बन्धी व्यवस्थामा वार्षिक तलब वृद्धि (ग्रेड) कर्मचारीले प्रत्येक वर्ष निजको सुरू तलब स्केलले हिसाब गरी हुन आउने एक दिनको तलबबराबरको रकम वार्षिक तलब वृद्धि (ग्रेड) पाउने उल्लेख छ । कर्मचारीले ग्रेड सुविधा नपाएको बताएका छन् । त्यस्तै कर्मचारीले प्रत्येक महिना सकिएपछि तलब भत्ता पाउने उल्लेख छ । तर, ६ महिना बितिसक्दा पनि बढेको तलब र ग्रेड नपाएको उनीहरुको गुनासो छ ।
 
परिच्छेद १३ मा सजायसम्बन्धी व्यवस्थामा अस्पतालको दैनिक काम सञ्चालनमा बाधा पुग्ने गरी प्रदर्शन गर्न, हड्तालमा भाग लिन वा सो कार्य गर्ने उद्देश्यले अरुलाई उक्साउनसमेत हँदैन भनी उल्लेख छ । त्यस्तै हड्ताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध लगाइएको छ ।
 
नियमावलीको सजायसम्बन्धी व्यवस्थामा उचित र पर्याप्त कारण भएमा कर्मचारीलाई नसिहत दिने, बढीमा तीन तलब वृद्धि रोक्का गर्ने, बढीमा दुई पटकसम्म बढुवा रोक्का गर्ने, आर्थिक हानि नोक्सानी असुलउपर गर्ने, भविष्यमा अस्पतालको सेवाको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने, भविष्यमा अस्पतालको सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने नियम रहेको छ ।