मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीआईपीहरुको सवारीले चितवनका प्रमुखहरुलाई भ्याइनभ्याइ

भीआईपीहरुको सवारीले चितवनका प्रमुखहरुलाई भ्याइनभ्याइ


नारायणगढ । चितवनमा केही महिनायता भीआर्इपीहरुको आगमन बढेको छ । भीभीआर्इपी र भीआर्इपीहरुको आगमनले जिल्लाका प्रमुखहरुलाई भ्याइनभ्याइ छ । 
 
यतिबेला प्रमुख जिल्ला अधिकारीदेखि लिएर विभिन्न सुरक्षा निकायका प्रमुखहरुलाई फुर्सद छैन् । हालसालै मात्र चितवन सरुवा भएर आएका विभिन्न कार्यालयका प्रमुखहरुलाई जिल्लामा आएदेखि नै भीआर्इपीहरुको पछिपछि कुद्न ठिक्क छ । कहिले प्रधानमन्त्री, त कहिले अन्य विभागीय मन्त्रीहरु चितवन आइरहेका हुन्छन् । 
 
संसद अवरुद्ध भएको बेला प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा समारोहको रिवन काट्न भ्याइनभ्याइ छ ।
 
प्रधानमन्त्री हुनेवित्तिकै रिवन काट्न नहिँड्ने उद्घोष गरेका प्रधानमन्त्रीको यतिबेलाको दैनिकी नै यही बनेको छ । मन्त्री प्रधानमन्त्री संसद खुलाउन पहल गर्नुको सट्टा विभिन्न कार्यक्रमको उद्घाटन गर्नमै व्यस्त छन् । जनताको सुरक्षा गर्न खटिएका प्रहरीको जिल्लामा आएका प्रधानमन्त्री र मन्त्रीहरुको सुरक्षा व्यवस्था र स्कर्टिङ गर्दैमा दिन जाने गरेको छ ।
 
भीआर्इपीहरुको आगमनले गर्दा सबैभन्दा बढी हामी व्यस्त छौं, चितवनका प्रमुख दीपक थापाले भने । प्रहरीले अनुसन्धान कार्यमा समय दिन नसकेको उनले स्वीकार गरे । जिप्रकामा थुप्रिएका मुद्दाहरुको अनुसन्धान प्रक्रिया पूरा गर्न प्रहरीलाई हम्मेहम्मे पर्न थालेको छ । 
 
भीआर्इपी आउनासाथ सवारी साधनको व्यवस्था, सुरक्षा व्यवस्था मिलाउन भीआर्इपीको पछि कुद्नुपर्ने बाध्यता रहेको स्वीकार र्गछन् प्रमुख जिल्ला अधिकारी नारायण भट्ट । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक जिल्लामा आएको एक महिना पुग्नै लाग्दा एक दिन पनि राम्रोसँग कार्यालयमा बसेर काम गर्न पाएका छैनन् ।
 
पछिल्लो एक महिनाभित्रको अवधिमा चितवनमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलगायतका अन्य एकदर्जन मन्त्री चितवन आए । त्यस्तै सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्की पनि चितवन आएकी थिइन् । 
 
उपराष्ट्रपति नन्दकिशोर पुन पनि चितवन हुँदै नवलपरासी गएका थिए । यीबाहेक एक महिनाको अवधिमा पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरु, प्रमुख दलका नेताहरुको चितवनमा धेरै पटक आगमन भएको छ ।
 
गत शनिबारमात्रै चितवनमा तीन जना मन्त्रीको उपस्थिति रहेको थियो । जिल्लामा भीभीआर्इपीहरुको आगमन बढ्दा जनताले भने सास्ती खेप्न बाध्य छन् । भीभीआर्इपीहरुको सवारी हुँदा प्रहरीले सडक नै खाली गराउँछन् । जसले गर्दा जनताले दुःख पाउने गरेको स्थानीय हरेराम रिजाल बताउँछन् । 

शेयर गर्नुहोस:

0
Shares