चितवन । पश्चिम चितवनको नारायणी नपा–६ मा रहेको चन्द्रकला देवीको मन्दिरमा दलित महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै विगत ३ महिनादेखि ताला लागेकोमा स्थानीय दलित युवाको अगुवाइमा दलित र गैरदलित संयुक्त रुपमा मन्दिर प्रवेश गरेका छन् ।
विसं २०१८ सालमा स्थापित सो मन्दिरमा हालसम्म दलित जातिलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन । ब्राह्मण क्षेत्री समुदायका महिलाले स्थानीय दलित महिला प्रेमकुमारी विकलाई मन्दिर प्रवेश गरेको भन्दै आपत्तिजनक शब्दले गालीगलौज गरेकामा सबै मिलेर आरोपितलाई माफी मगाइ मन्दिर प्रवेश गराइएको स्थानीयले हिमालय खबरलाई बताए ।
चितवनको नारायणी नगरपालिका–६ देवीस्थानमा गत असोज २४ नवमीका दिन मन्दिर पूजा गर्ने सन्दर्भमा सानो जात भएको भन्दै स्थानीय दलितहरु अपमानित हुनु परेको थियो । स्थानीय ज्ञानु भण्डारी, रविलाल भण्डारी र डिल्ली शर्मालगायतले दुव्र्यवहार गरेको दलितहरुको आरोप छ ।
सोही घटनाको विरोध गर्दै स्थानीय जनजागरण युवा क्लब तथा वुद्धिजीवीहरुको अगुवाइमा मन्दिर व्यवस्थापन समितिलाई सार्वजनिक स्थानमा सबैको समान हकको लागि सत्यतथ्य बुझ्न पत्र पेश गरिएको थियो ।
पत्र पेश गरेको तीन महिनापछि पुस ११ गते संयुक्तरुपमा मन्दिर प्रवेश गरिएको स्थानीय अगुवा मोतीकृष्ण विश्वकर्माले जानकारी दिए । गाउँको घटना गाउँस्तरमै मिलाउने दबाब आएपछि पीडितले यस विषयमा प्रहरी र अन्य अधिकारकर्मीलाई जानकारी गराएका थिएनन् ।
चितवनका विभिन्न राजनीतिक दल र सम्बन्धित निकायबीच सर्वदलीय छलफलसहितको सचेतनात्मक कार्यक्रम आयोजना गरी मन्दिर प्रवेश गरिएको थियो ।
चितवन बार एसोसिएसनका अध्यक्ष अधिवक्ता गोपिलाल देवकोटाको प्रमुख आतिथ्यमा मन्दिर प्राङ्गणमा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले सचेतनाको अभावमा अझै पनि समाजमा जातीय विभेदका घटना विद्यमान रहेको बताए ।
साथै उनले सार्वजनिक स्थानमा भेदभाव हुनु निन्दनीय रहेको बताए । कार्यक्रमपश्चात् देवीस्थान मन्दिरमा सबै जातजातिले समान तरिकाले पूजाआजा गर्न पाउने लिखित हस्ताक्षर भएको थियो ।
प्रतिक्रिया