काठमाडौँ । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको विरोधस्वरुप आइतबार गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ ।
हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शनसमेत गरेका छन् ।
धनगढी–डडेलधुरा सडकअन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पु¥याएर छाडिएको बताइएको छ ।
घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुतेसम्म पु¥याउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै नगरपालिकाका कार्यकारी अधिकृतलाई पनि स्थानीय प्रशासनले सोधपुछ गरेको छ ।
गौहत्याको सर्वत्र विरोध
कैलाली जिल्लामा सामूहिक रूपमै गाईहरूको हत्या भएको जानकारी सामाजिक सञ्जालहरूमा आइरहेको छ । तर, सरकारी निकाय यसको मामलामा मौन देखिन्छ । गाईहरूको सामूहिक हत्या भएको विषयलाई लिएर हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले कडाशब्दमा विरोध जनाएको छ । सो संस्थाका अध्यक्ष पदमराज पाण्डे र महासचिव दीपक सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा विरोध जनाइएको हो ।
विज्ञप्तिमा, नेपालको संविधानले राष्ट्रिय जनावरको रूपमा सम्मान गरेको र मुलुकी ऐनले समेत राष्ट्रिय जनावर गाईलाई मार्न नपाइने र कसैले गाईको हत्या गरेमा दण्डनीय अपराध हुने भन्दै बाह्र वर्षसम्मको जेल सजायलगायतको कारवाहीको व्यवस्था गरेको सर्व विदित कुरा हो । कानूनि रूपमा यस्तो व्यवस्था हुँदाहुँदै पनि यसरी खुलेयाम गाईको हत्या हुनु र सोलाई मुक दर्शक भएर सरकारको प्रशासन रहनुले सरकार एवं सरकारी प्रशासनप्रति गम्भीर शङ्का जन्मिएको छ, उल्लेख छ ।
नेपालमा यस भूमिको सनातन वैदिक धर्म ॐकार परिवारको मुल्य–मान्यतालाई क्षीण गराई यहाँको धार्मिक एवं सांस्कृतिक सभ्यतालाई धमिल्याउने र यीनै सभ्यताले निर्माण गरेको राष्ट्रिय भावनामा ह्रास ल्याई यो मुलुकलाई विखण्डन गर्ने षड्यन्त्रहरू भइनै रहेको भन्दै सनातन धर्म ॐकार परिवारको पूज्य गोवंशको सुरक्षाको विषयमा राज्यको लापरवाही देखिनुमा त्यस्तै षड्यन्त्रको हात हुनसक्ने देखिन्छ, विज्ञप्तिमा भनिएको छ ।







प्रतिक्रिया