मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा औद्योगिक क्षेत्र बनाउन अध्ययन टोली खटाइने

चितवनमा औद्योगिक क्षेत्र बनाउन अध्ययन टोली खटाइने


चितवन । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चितवनमा औद्योगिक क्षेत्र आवश्यक रहेको बताएका छन् । 
 
चितवन उद्योग संघको १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री जोशीले चितवनमा औद्योगिक क्षेत्र निर्माणका लागि निरीक्षण टोली खटाउने बताए । उद्योग संघले औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरेअनुसार जुटपानीमा रहेको दुई हजार ५०० बिघा जमिनको विस्तृत अध्ययनका लागि छिट्टै टोली खटाइने मन्त्री जोशीले जानकारी दिए ।
 
मन्त्री जोशीले चितवन उद्योग संघले अघि सारेको चितवन प्रदर्शनी केन्द्र निर्माणका लागि पनि आफ्नो सक्दो सहयोग रहने प्रतिवद्धता जनाए । उनले अर्थ मन्त्रालयसँगको समन्वयमा छिट्टै प्रदर्शनी केन्द्रका लागि आवश्यक बजेट विनियोजनका लागि छलफल चलाइने बताए । 
 
त्यस्तै मन्त्री जोशीले नेपालमा व्यवसायमात्र नभई उद्यमी बन्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले उद्योगको विकासक्रम बढ्दै गएमा १० वर्ष भित्रमा युवाहरुले विदेशमा गएर श्रम बेच्न पर्ने अवस्था नरहने दाबी गरे । उनले उद्योगको विकास भएमा मात्रै देश विकास हुने भन्दै बन्द भएका उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए । 
 
कार्यक्रममा जोशीले देश बनाउन सबै एकजुट हुनुपर्ने भन्दै राजनीतिक खिचातानीमा अल्झन नहुने सुझाव दिए । सोही अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफूले पनि प्रदर्शनी केन्द्रको लागि बजेट निकासमा पहल गरिरहेको जानकारी दिए । उनले जुटपानीमा रहेको २५ सय बिघा जमिन पनि औद्योगिक क्षेत्र निर्माणका लागि उपयुक्त बनेको बताए । 
 
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, सांसद शेषनाथ अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, नेकपा (एमाले) चितवनकी जिल्ला उपसचिव सूर्यबदना हमाल, नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक घनश्याम दाहाल, नयाँ शक्ति पार्टीका जिल्ला सहसंयोजक पदमबहादुर गुरूङ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा भएको थियो ।
 
तीन प्रस्ताव पारित
चितवन उद्योग संघको १७ औं वार्षिक साधारण सभाले शनिबार विशेष औद्योगिक योजनाहरुको विशेष तीन प्रस्ताव अनुमोदन गरेको छ ।
 
चितवन औद्योगिक प्रदर्शनी केन्द्र निर्माण, वृहत औद्योगिक क्षेत्र निर्माण र उद्योग हित प्रत्याभूति कानुन प्रस्ताव अनुमोदन गरेको संघका महासचिव सूर्य न्यौपानेले जानकारी दिए । ३० करोडको लागतमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्रको बाँकी रकम जुटाएर निर्माण प्रक्रियालाई अघि बढाउने प्रस्ताव पारित गरिएको छ । त्यस्तै महासचिव सूर्यप्रसाद न्यौपाने र कोषाध्यक्ष मदन घिमिरेको प्रतिवेदन पारित भएको छ ।
 
दस वर्षमा धेरै उद्योग सञ्चालन 
उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा निजी क्षेत्रका बन्द उद्योगहरु सहजीकरण गरी सञ्चालनमा ल्याउने सरकारले तयारी गरिरहेको बताए । 
 
दस वर्षभित्र धेरैजसो उद्योग सञ्चालन गरी सबैलाई रोजगारीको व्यवस्था मिलाइने दाबी गरे । उनले भने, ‘नेपालमै रोजगारीको अवसर प्रशस्त भए विदेशिने समस्या कम हुन्छ ।’