हिमालयखबर संवाददाता
काठमाडौं- सन् २००३ मा इराक युद्धका जति अमेरिकी सैनिक मारिए, त्योभन्दा बढी नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । वेभसाइटमा राखिएको तथ्यांकअनुसार सन् २००३ यता इराक युद्धमा ४ हजार ५ सय १२ जना सैनिकले ज्यान गुमाउनु पर्यो । जे जस्तो अवस्थामा भए पनि मृत्यु दुःखदायी हो, परिवारको पीडा असह्य नै हुन्छ । तर, युद्धमा सबै कुरा जायज हुन्छ भन्ने मान्दा यसलाई स्वीकार्नै पर्छ । त्यसैले त युद्ध नै नहुनु राम्रो ।
तर, सुनौलो भविष्य लिई कमाएर परिवार पाल्ने चाहना बोकेर विदेश पुगेका नेपालीमध्ये त्यहाँ ज्यान गुमाउनेको संख्या योभन्दा बढी छ । साउथ एशिया डटकम वेभसाइटका अनुसार सन् २००३ यता ५ हजारभन्दा बढी युवाले विदेशमा ज्यान गुमाए । नेपालमा रोजगार नपाउँदा परिवारको गरिबी हटाउन विदेश पुगेका कयौँ नेपालीको चुपचाप मृत्यु हुने गरेको छ । प्रत्येक दिन नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा बाकसमा युवाको लासहरु आइरहेका हुन्छन् ।
नेपाल सरकारको तथ्यांक उदधृत गर्दै अमेरिकाको एशोसिएट प्रेसले गत वर्ष मात्र ५ सय नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । प्रायःजसो नेपालीको सुतिरहेको समयमा मृत्यु हुने गरेको छ । अघिल्लो दिन कडा परिश्रम गरेर आउने र भोलिपल्ट बिहान ओछ्यानमै मृत्यु हुनेको संख्या उल्लेखनीय छ । मृत्युको मुख्य कारण मुटुको समस्या रहेको डाक्टरहरुले बताउँछन् । तर, मृत्युको सही कारणको गहन विश्लेषण हुन सकेको छैन ।
नेपालले वार्षिक करिब ७ खर्ब रुपैयाँ विदेश जाने कामदारबाट भित्र्याउँछ । यो देशको कुल उत्पादनको झण्डै ३० प्रतिशत हो । यी पैसाले नेपालले आफ्नो विदेशी व्यापारलाई भुक्तानी गरिरहेको छ । न्यूनस्तरको आर्थिक वृद्धि, राष्ट्रपति प्रधानमन्त्री, मन्त्री सांसदलगायत सरकारी कर्मचारीले लिने पारिश्रमिकको स्रोत सरकारी राजश्व पनि रेमिट्यान्सबाटै आइरहेको छ । तर, यसको मूल्य विदेशमा मृत्यु हुने नेपाली युवाका परिवारले चुकाइरहनु परेको छ । सरकारी तथ्यांकअनुसार झण्डै ६० प्रतिशत घरका कोही न कोही कमाउन विदेश गएका छन् । प्रायः सबै गाउँमा युवाहरुको खडेरी छ । ३० लाखभन्दा बढी युवा विदेशमा रहेको अनुमान छ ।
सडक दुर्घटना पनि खाडी मुलुकमा नेपाली कामदारको मृत्युको अर्को कारण हो । द्रत गतिमा चल्ने सडकमा कसरी बाटो काट्ने यो जानकारीसमेत नपाई नेपाली कामदारहरु विदेसिन्छन् ।
प्रत्येक दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्तरमा बाकसमा लास आउँछ परिवारको रुवावासी सुनिन्छ तर, सरकारले मृत्युको कारणका अझ अनुसन्धान गरेको छैन । आशा गरौँ, अनुसन्धान होला र तथ्य आउने छ । त्यसपछि यसरी रुवावासी गर्ने परिवारको संख्या घट्ने छ । (फोटो साभार: सामाजिक संजाल )









प्रतिक्रिया