धादिङ । पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो शुक्रबार बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ग २ च ४५७२ नं को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र मृतकहरूमध्ये दुर्इ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
मृतकहरुमा चण्डिकास्थान–६ लमजुङ घर भएका चालक २५ वर्षीय माधव धिताल, ३१ वर्षीय विष्णुबहादुर राउतको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्रकले च्यापेर ज्यान गयो
ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३७८५ नम्बरको ट्रकको पहिल्लो चक्काले च्याप्दा बिहीबार राति श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले चालकसहित ट्रकलाई नियन्त्रणमा लिई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घास ल्याइपु¥याएको छ । शव परीक्षणका लागि लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।
ट्याक्टरले किच्दा मृत्यु
ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिए ।
कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको छ । बालिकाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा राखिएको छ । फरार चालकको खोजी जारी रहेको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत राकम–७ का ट्याक्टर चालक २३ वर्षीय प्रेम नेपाली रहेका छन् । देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे–६ पोखरानजिकै बिहीबार राति दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
ट्याक्टर सडकबाट झन्डै ४० मिटर तल खसेको छ । ट्याक्टरमा सवार बामे–९ की ३५ वर्षीया मनकुमारी पुन गम्भीर घाइते भएकी छन् । घाइते पुनको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया