चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले शसक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा (एमाले)ले प्रस्ताव गरेझैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको उल्लेख गरे ।
तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए ।
मधेसवादी दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि ? भन्ने प्रश्नको जवाफमा उनले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गरे ।
संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो । विसं २०७४ माघभित्र कुनै पनि हालतमा तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताए ।
संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो । सत्तारुढ दलहरुले आफ्नैमात्र स्वार्थका कुरा लादेर नभई सहमतिका साथ अघि बढ्न खोजेको उनको भनाइ छ । उनले सबै दल सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताए ।
प्रतिक्रिया