चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भइसकेको बताएका छन् ।
नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को बिहीबार यहाँ उद्घाटन गर्दै उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओली, (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहो¥याए ।
उनले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उनले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गरे । उनले भने, ‘अब यसलाई कसैले टारेर टर्दैन । स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ ।’
नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरेअनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उनले स्पष्ट पारे । एमालेले प्रस्ताव पास हुने डरले संसद् चल्न नदिएको र जनता उचालेको उनको भनाइ थियो । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै भने, ‘काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।’
आफ्नै पार्टीभित्रको प्रसङ्ग कोट्याउँदै उनँले अब पार्टीभित्र गुट–उपगुटभन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताए । ‘गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनुहोस् । चुनाव जसरी पनि जित्नुपर्छ ।’ उनले भने ।
कार्यक्रममा महामन्त्री डा सशाङ्क कोइरालाले देशको विगतलाई हेर्दा जुनबेला राजनीतिक स्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताए । उनले भने, ‘बीपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।’ बीपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रसङ्ग कोट्याउँदै उनले गाउँबाट सङ्गठन सुदृढ बनाउन आग्रह गरे ।
काँग्रेसलाई पहिलो पार्टी मात्रै नभएर बहुमतको पार्टी बनाउन केन्द्रबाट गर्ने सहयोग गर्न तयार रहेको भन्दै उनले गुट–उपगुट छाडेर सङ्गठन विस्तारमा जोड्न कार्यकर्तालाई निर्देशन दिए । सो अवसरमा केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सगरमाथाको देश र संस्कृतिक धरोहर मात्रै भनेर अब चिनाइराख्नु नहुने भन्दै आर्थिक समृद्धि र विकास गरेर विश्वको नमुना देश बनाउनुपर्ने बताए ।
संविधान कार्यान्वयन नभएसम्म देशको विकास हुन नसक्ने भन्दै उहाँले यसका लागि सबै दलको बीचमा सहमति जरुरी रहेको विचार राखे । कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले १३ औँ जिल्ला अधिवेशनपछि पाँच हजार जना अन्य दलबाट काँग्रेसमा प्रवेश गरेको भन्दै उनीहरुलगायत काँग्रेसलाई पनि प्रशिक्षण हुने गरी दुई महिने अभियान सुरु गरेको बताए ।
सो अवसरमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नवलपरासीका सभापति विष्णु लामिछाने, चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, विष्णुमाया परियारलगायतले काँग्रेसको सङ्गठन बिस्तार बारेमा बोलेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका तृतीय उपाध्यक्ष विष्णु कँडेल र व्यवसायी धनप्रसाद पोखरेल नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।







प्रतिक्रिया