मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाबालिका छोरीले दिइन् आमालाई दागबत्ती

नाबालिका छोरीले दिइन् आमालाई दागबत्ती


रोल्पा । ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् ।
 
रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।
 
श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा छोरो ३ वर्षको मात्र रहेका कारण १३ वर्षीया छोरी कमला वलीले दागबत्ती दिएकी हुन् । धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्नसमेत नसकेपछि नेपाल महिला सङ्घ रोल्पाको पहलमा अन्त्येष्टिका लागि आवश्यक सामान उपलब्ध गराइएको नेपाल महिला सङ्घ, रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठले बताए ।
 
मृतक वलीको संरक्षकत्वमा उनकै अपाङ्ग नन्द बस्दै आएकी थिइन् । ‘उनको मृत्युपछि नाबालक रहेका तीन छोराछोरी र नन्दको बिचल्ली भएकाले सहयोगका लागि विभिन्न दातालाई आग्रह गरेका छौँ’, श्रेष्ठले भने । 
 
लामो समय सम्पर्कमा नरहेका उनका श्रीमान् पछिल्लो पटक भने सम्पर्कमा आई छुट्टी मिलेपछि घर फर्कने बताएको पारिवारिक स्रोतले जनाएको छ । रासस